शारदा डिस्टिलरीका सञ्चालक प्रमोद गोयन्का २ करोड ३८ लाख धरौटीमा छुटे

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
शारदा डिस्टिलरीका सञ्चालक प्रमोद गोयन्का २ करोड ३८ लाख धरौटीमा छुटे

सिरहा । नक्कली बिल र स्टिकरको प्रयोग गरी राजस्व छली र तस्करीमा संलग्न सिरहाको शारदा डिस्टिलरीका सञ्चालक प्रमोद गोयन्का धरौटीमा रिहा भएका छन् ।

आन्तरिक राजस्व कार्यालयले उनलाई दुई करोड ३८ लाख ५१ हजार ६३३ रुपैयाँ धरौटीसँगै हाजिरी जमानीमा रिहा गरेको हो ।

डिस्टिलरीको मदिरा भण्डारण गरेको माडरस्थित आशिष जनरल स्टोरका सञ्चालक ललनकुमार यादवलाई भने राजस्व कार्यालयले धरौटी जमानीमा शुक्रबार छाडेको हो । यादवलाई २० लाख ८९ हजार रुपैयाँ धरौटी लिएर छाडिएको कार्यालयका प्रमुख पुण्य रिजालले जनाए । उनको गोदामबाट त्यति नै रकमबराबरको अवैध मदिरा बरामद भएको थियो ।

सिरहाको शारदा डिस्टिलरीले अन्त:शुल्कको एउटा स्टिकरलाई दुई टुक्रा बनाई अवैध रूपमा प्रयोग गरी राजस्व छली गरेको भिडियोसहितको रिपोर्ट चैत ४ गते कान्तिपुर टेलिभिजनले सार्वजनिक गरेको थियो

राजस्व कार्यालयले दुई टुक्रा पारी लगाइएको मदिराका बोतलहरू नियन्त्रणमा लिँदै आशिष जनरल स्टोरका सञ्चालक ललनकुमार यादव र शारदा डिस्टिलरीका प्रतिनिधि लोकबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा राजस्व कार्यालयले शारदा डिस्टिलरीका सञ्चालक प्रमोदलाई पनि नियन्त्रणमा लिएको थियो । राजस्व कार्यालय प्रमुख रिजालका अनुसार गोयन्कामाथि दुई करोड ३८ लाख ५१ हजार ६ सय ३३ रुपैयाँ बिगो कायम गरेको र सोहीबमोजिम धरौटी बुझाएर प्रमोद मंगलबार तारेखमा रिहा भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.