सुन तस्करीको तमसुकमा पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र पुनको ल्याप्चे, अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

चिनियाँ तस्करले पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्रलाई सुन बिक्री गर्दा बनाएको भिडियो सार्वजनिक
फाल्गुन २७, २०८० |रमेश धमला
सुन तस्करीको तमसुकमा पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र पुनको ल्याप्चे, अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानपछि अन्तर्राष्ट्रिय आपराधिक समूहले राज्य संयन्त्रमाथि कसरी प्रभाव राखेका छन् भन्ने उदांगो भयो ।

सुन तस्करले राजनीतिक नेतृत्वको फेरो समात्यो । ६० किलो सुन तस्करी प्रकरणका मुख्य नाइके मध्येका एक दावा छिरिङसँग उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशको निकट सम्बन्ध देखिएको थियो । तर दिपेश त राजनीतिक पहुँचकै कारण सामान्य अनुसन्धानपछि उम्किए । अहिले सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका अर्का छोरा संलग्न भएको प्रमाण सार्वजनिक भएको छ । चिनियाँ तस्करले नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनलाई सुन बिक्री गर्दा बनाएको भिडियो नै कान्तिपुरलाई प्राप्त भएको छ ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनले चिनियाँ समूहसँग मिलेर सुन तस्करीमा संलग्न रहेको भिडियो कान्तिपुर टेलिभिजनले प्राप्त गरेको हो । सुन तस्करीमा संलग्न चिनियाँ समूहले पूर्वपउपराष्ट्रपति पुनका छोरा जितेन्द्र पुनलाई सुन बिक्री गरेको भिडियो नै तयार पारेका हुन् । सुरुमा चिनियाँले पुनसँग सम्झौता हुनुअघि चिनियाँ भाषामा केही बोल्छन् । पूर्वउपराष्ट्रपतिका छोरालाई सुन तस्करले आफनो तर्कअनुसार सुन कारोबारको सम्झौता गराएको दृष्यमा प्रस्ट देखिन्छ । सुरुमा चिनियाँ समूहले जितेन्द्र पुनलाई आफ्नो परिचयपत्र देखाउन भन्छ । जितेन्द्रले आफ्नो राष्ट्रिय परिचयपत्र देखाउँछन् ।

त्यसपछि पुनले लिने गरेको सुनको विवरण उल्लेख भएको एक सम्झौतापत्र देखिन्छ । ६ पृष्ठ लामो सम्झौतापत्रमा चिनियाँ पक्षले पुनले उधारोमा सुन खरिद गर्न लागेको उल्लेख गरेको छ । जसमा सांघाई स्टक एक्सचेन्जको मूल्यअनुसार प्रतिग्राम चिनियाँ मुद्रा ३८५ आरएमबी मूल्यमा ४ किलो सुन खरिद गरिएको छ । जसको रकम एक वर्षभित्रमा भुक्तान गर्ने सम्झौतापत्रमा उल्लेख छ । सो कुरा चिनियाँ समूहले जितेन्द्र पुनलाई देखाएको भिडियो चिनियाँ भाषामै कैद गरेका छन् ।

लगत्तै चिनियाँले जितेन्द्रलाई आफ्नो नाम आफैं लेख्न लगाउँछन् । अंग्रेजी र नेपाली दुवै भाषामा । पुनले आफ्नो नाम लेखेको कुरा चिनियाँले आफ्नै भाषामा कसैलाई जानकारी गराइरहेको सुनिन्छ ।

चिनियाँ कपाली तमसुक गराएको जस्तो सम्झौतापत्रमा लेखिएको सबै कुरा पढेको र बुझेको बारे पुनलाई स्मरण गराइन्छ । र पुनको राष्ट्रिय परिचयपत्र नम्बर पनि सम्झौतापत्रमा उल्लेख गर्न लगाइन्छ ।

विक्रेताले पुनलाई खरिद गर्ने दोस्रो पार्टीका रुपमा हस्ताक्षर गर्न लगाउँछन् । मिति पनि आफैं लेख्न लगाएका छन् । प्रत्येक दिन शून्य दशमलव ३ प्रतिशतका दरले ब्याजसहित २०२० अक्टोबर २ अर्थात् एक वर्षसम्ममा तिरिसक्नुपर्ने गरी सन् २०१९ अक्टोबार ३ मा सम्झौता भएको कागजात तयार पारेको दृष्यमा देखिन्छ । पुनबाट रकम भुक्तान गराउन चिनियाँ समूहले पुनको नाम, सुनको मूल्य, परिमाणदेखि सबैतिर औंठा छाप लगाउन अह्राइन्छ । जसमा पुनको मोबाइल नम्बरसमेत उल्लेख छ । चिनियाँले यतिसम्म गर्छन् कि पुनको राष्ट्रिय परिचयपत्रसमेत राखेर चिनियाँ भाषामै कसैलाई रिपोर्ट गरेको सुनिन्छ ।

कान्तिपुरलाई प्राप्त भएको यो दृष्यले पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र पनि चिनियाँ सुन तस्करीको समूहमा रहेको प्रस्ट पार्छ । यससम्बन्धी समाचार आइतबारको कान्तिपुर दैनिकमा सार्वजनिक भएदेखि नै पुनमाथि अनुसन्धान गर्न दबाब बढेको छ । उपराष्ट्रपतिको स्वकीय सचिवको परिचयपत्रसमेत बनाएर सुन ओसपोसार गरेको कान्तिपुरको समाचारमा उल्लेख छ । त्यसो त नन्दबहादुरकै अर्का छोरा दिपेश पनि यसअघि गत साउनमा बरामद भएको ६० किलो सुन तस्करीका मुख्य नाइके मध्येका एक दावा छरिङसँग निकट सम्बन्धमा देखिएका थिए । तर राजनीतिक दबाबकै कारण सीआईबीले दिपेशसँग सामान्य सोधपुछ गरेर छोडेको थियो । अहिले ६० किलो सुन तस्करीका आरोपी चिनियाँ मूलका सहित ९ जना पुर्पक्षका लागि थुनामा छन् ।

कान्तिपुर टेलिभिजनले यो भिडियो प्राप्त गरेसँगै थप दृश्यसहितका थप विवरण सार्वजनिक भएकाले सरकारलाई थप अनुन्धानका लागि प्रमाण र दबाब पुग्ने देखिएको छ । ६ मिनेट लामो यो भिडियोमा पुनलाई हस्ताक्षर गर्न लगाउने चिनियाँ भने कहीँ पनि देखिँदैनन् । उनको स्वर मात्र सुनिन्छ ।

अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराद्वय जितेन्द्र र दिपेशमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा संलग्न पुनद्वयलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । उनले घटनाको गम्भीर अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरी चार वर्षअघि अवैध सुन ल्याएको भिडियो प्रमाण कान्तिपुरले प्राप्त गरेको छ ।

सुन आयातमा सरकारको कोटा

सुन आयात गर्न नेपाल सरकारले २०६० सालदेखि नै कोटा प्रणाली लागु गरेको छ । नेपाल राष्ट्र बैंकको अनुमतिमा वाणिज्य बैंकले अहिले दैनिक २० किलो सुन आयात गर्छ । यो सुन नेपाल राष्ट्रिय सुन चाँदी व्यवसायी संघमार्फत बजारमा पठाउने गरिएको छ । सुन आयात गर्दा प्रतितोला १० हजार भन्सार लाग्ने गरेको छ । महँगो भन्सार र आयात कोटाले धेरै सुन ल्याउन नपाउने भएपछि पछिल्ला दिनहरुमा अवैध सुन आयात बढ्दै गएको छ ।

तर, अहिले यस्ता निकाय छलेर राज्यकै उच्च तहमा बसेकाहरु वा तिनका परिवारका सदस्यले सुन तस्करको सागको मिलेमतोमा अवैध बाटोबाट आयात गर्ने गरेको खुलेको छ ।

यसले सुन तस्करीमा व्यापारी मात्रै होइन, राज्यका जिम्मेवार पदमा रहेकाहरुसमेत जोडिँदै आएको देखिएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था पुनर्स्थापना हुँदै गणतन्त्रसम्म आउँदा नेतृत्व तहमा बसेकाहरु सुनको तस्करीसँग जोडिँदै आएका छन् ।

२०४३ सालमा साढे २२ किलो सुनसहित राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा विमानस्थलमै पक्राउ परेका थिए । २०४४ मा तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका अंगरक्षक कर्णेल भरत गुरुङलाई नै सुन तस्करीको आरोप लागेको थियो ।

२०५४ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा सुनकाण्ड बाहिर आयो । त्रिभुवन विमानस्थलबाट इलेक्ट्रिक चुरोट भेपमा साढे नौ किलो सुन तस्करीमा माओवादीका नेता कृष्णबहादुर महराका छोरा राहुल महराको गिरोहसँग पटक-पटक फोन सम्पर्क भएको प्रहरीको अध्ययन नै देखाइसकेको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।