महिलाविरुद्धका विभेद अन्त्यका लागि आ-आफ्नो क्षेत्रबाट योगदान गरौं : राष्ट्रपति पौडेल

फाल्गुन २५, २०८० |कान्तिपुर टीभी संवाददाता
महिलाविरुद्धका विभेद अन्त्यका लागि आ-आफ्नो क्षेत्रबाट योगदान गरौं : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन् ।

‘विश्वभरि विभिन्न क्षेत्रमा कार्य गर्ने महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरूलाई स्मरण गर्दै महिलाहरूलाई सम्मान दिनुका साथै महिलाहरूको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैंगिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउनेलगायतका उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ । लैंगिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समान रूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको छु,’ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले भनेका छन् ।

राष्ट्रपति पौडेलले परम्पराका नाममा समाजमा कायम रहेका बोक्सी, छाउपडी, बालविवाह, दाइजो र तिलकजस्ता प्रथाले महिला, किशोरी तथा बालबालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनाहरु निर्मूल गर्न अझै पनि थप कार्यक्रम र तिनको कार्यान्वयन जरुरी रहेको उल्लेख गरेका छन् ।

‘परम्पराका नाममा समाजमा कायम रहेका खराब अभ्यासहरू जस्तै बोक्सी, छाउपडी, बालविवाह, दाइजो तथा तिलकजस्ता प्रथाले महिला, किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनाहरू निर्मूल गर्न अझै पनि थप कार्यक्रमहरू तय गरी कार्यान्वयन गर्न जरूरी देखिन्छ,’ राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा आह्वान गर्दछु ।’

उनले महिलाहरूको हक, अधिकार, समानता, सशक्तीकरण तथा सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न प्रेरित गर्दै, राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता सहित सारभूत समानता कायम गरी लैंगिक समानतायुक्त राष्ट्र निर्माणमा क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था एवं अधिकारकर्मीहरूलाई थप ऊर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेका छन् ।

आज मार्च ८ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । महिलाअधिकार तथा लैंगिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाइँदै आइएको छ ।

यस पटकको अन्तर्राष्ट्रिय महिला दिवसका लागि संयुक्त राष्ट्रसंघले ‘इन्भेस्ट इन विमेन : एक्सिलरेट प्रोग्रेस’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । नेपालमा भने ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

महिलाको हकअधिकार, सशक्तीकरण एवं लैंगिक समानताका लागि आवाज उठाउँदै सन् १९११ देखि विश्वभर आजको दिनलाई विशेष दिनका रुपमा मनाइँदै आइएको छ ।

यो पनि...

देविका थामी : भेडीगोठदेखि गाउँपालिकाको उपाध्यक्षसम्मको यात्रा

मनाइँदै ११४औं अन्तर्राष्ट्रिय महिला दिवस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.