देविका थामी : भेडीगोठदेखि गाउँपालिकाको उपाध्यक्षसम्मको यात्रा

फाल्गुन २५, २०८० |केदार शिवाकोटी
देविका थामी : भेडीगोठदेखि गाउँपालिकाको उपाध्यक्षसम्मको यात्रा

दोलखा । दोलखाकी देविका थामीलाई विद्यालय जाने उमेरमा बाख्रा गोठालो बन्नुपर्‍यो । पढ्ने र खेल्ने उमेरमा घरेलु श्रमिक भएर बस्दा पनि देविकाले संघर्ष गर्न भने छाडिनन् । छोरालाई विद्यालय भर्ना गराउने तर छोरीलाई विद्यालयभन्दा घरधन्दा र गोठाला पठाउने मान्यताले जरो गाडेको अल्पसंख्यक थामी समुदायमा संघर्ष गरेर स्थापित बनेकी महिला हुन्- देविका । घरेलु श्रमिकदेखि राजनीतिक यात्रामा गरेको संघर्षले आज देविका अल्पसंख्यक समुदायबाट बिगु गाउँपालिकाको उपाध्यक्षमा पुगेर जिल्लाकै स्थापित नेतृ भएकी छन् ।

एकै परिवारका दाजुभाइ विद्यालय जाँदा दोलखाकी देविका थामी भने छोरीलाई विद्यालय पठाउनु हुँदैन भन्ने सामाजिक कुसंस्कारको सिकार बनिन् । उनी विद्यालय जान पाइनन् र गोठालो बनिन् । २०४४ सालमा उनको परिवारै रोजगारी खोज्दै भारतको दार्जिलिङ पुग्यो । उनी पनि सँगै गइन् । त्यहाँ पनि दाजुभाइ विद्यालय जान्थे, उनी भने घरेलु श्रमिक बनिन् । तर उनले पढ्ने इच्छा मारिनन् । चिया बोक्दा-बोक्दै केही व्यक्तिले सहयोग जुटाइदिएपछि पहिलोपल्ट विद्यालयमा पाइला टेकिन् ।

कक्षा ७ सम्म अध्ययन गरेर परिवारसँगै गाउँ फर्किएकी देविकालाई पुनः परिवारले विद्यालय जान रोक लगाएपछि विद्रोह गरेर गाउँकै विद्यालयमा भर्ना भइन् । कक्षा ८ मा भर्ना भएकै बेला परिवारले उनको विवाह गर्ने प्रस्ताव ल्यायो ।

विद्यालयमा विद्यार्थी संगठनमा आबद्ध भएर समुदायका अन्यलाई पनि विद्यालय भर्ना गर्नुपर्छ भनेर उनले आवाज उठाइन् । तर उनीमाथि गाउँमा छोरीचेली बिगारेको आरोप लाग्यो । सामाजिक अवरोधका बीच उनले गाउँमा लैंगिक विभेदमा आवाज उठाइरहिन् ।

विद्यालय शिक्षा सकेर पाँच सय तलबमा स्थानीय थम्पु माध्यमिक विद्यालयमै बालशिक्षिका बनेकी देविकाले गाउँका बालबालिकालाई पढ्न प्रेरित गरिन् । १३ वर्ष बाल शिक्षिका बनेकी उनले महिलाअधिकार मञ्चबाट समुदायमा छोरीलाई शिक्षा अनिवार्य भन्दै अभियान चलाइन् । छोरीबुहारीमाथि हुने सामाजिक विभेदको वकालत गरिन् ।

सामाजिक अभियन्ता बनेर लैगिंक विभेदविरुद्ध आवाज उठाउँदा-उठाउँदै उनी राजनीतिमा पनि सक्रिय भइन् । सामान्य परिवामा जन्मिएकी देविका आर्थिक रुपमा महिलालाई सबल बनाउनुपर्छ भन्ने मान्यता राख्छिन् । अहिले बिगु गाउँपालिकाको उपाध्यक्ष भएकी देविका दुर्गमका अल्पसंख्यक सीमान्तकृत महिलालाई चुलोचौकोबाट बाहिर ल्याउन राज्यसँग लडिरहेकी छन् ।

यो पनि...

महिलाविरुद्धका विभेद अन्त्यका लागि आ-आफ्नो क्षेत्रबाट योगदान गरौं : राष्ट्रपति पौडेल

मनाइँदै ११४औं अन्तर्राष्ट्रिय महिला दिवस


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।