
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ विशेषतासहितको नोट प्रचलनमा ल्याएको जानकारी दिएको हो ।
राष्ट्र बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट प्रचलनमा ल्याएको हो । नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्सा समेटिएको छ । यस्तै मध्य भागमै अशोक स्तम्भको चित्र, दृष्टिविहीनलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला राखिएको छ । सुरक्षाका लागि नोटमा २ मिलिमिटर चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षण धागो राखिएको केन्द्रीय बैंकले जनाएको छ ।