काभ्रेका आन्दोलित दूध किसानले बनेपामा चक्काजाम गरेर नि:शुल्क दूध बाँडे

दूधको भुक्तानी दिन असक्षम भन्दै कृषिमन्त्रीको राजीनामा माग
फाल्गुन १७, २०८० |पुजन धिताल
काभ्रेका आन्दोलित दूध किसानले बनेपामा चक्काजाम गरेर नि:शुल्क दूध बाँडे

काभ्रे । काभ्रेका आन्दोलित दूध उत्पादक किसानले आज बनेपाको चारदोबाटोमा चक्काजाम गरी निःशुल्क दूध वितरण गरेका छन् । अरुतिर किसानहरुले दूध सडकमा पोखेर आन्दोलन गरिरहेका बेला काभ्रेका किसानहरुले भने दबाब आन्दोलनसँगै उत्पादित दूध नि:शुल्क वितरण गरेका हुन् । 

आन्दोलनमा उत्रिएका किसानहरुले दूधको भुक्तानी दिन असक्षम कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको राजीनामा समेत मागेका छन् । दूधको भुक्तानि नपाएको र गुणस्तरीय दूध बिक्रीमा समेत समस्या भएको भन्दै काभ्रेका किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका किसानहरुले बनेपाको चारदोबाटोमा चक्काजामपछि कोणसभा आयोजना गरेका थिए । जिल्ला दूध उत्पादक सहकारी संघ काभ्रेका अध्यक्ष नारायण बडालले भने, 'मारमा परेका किसानलाई भुक्तानीका लागि दबाब दिन केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायौं । आज चक्काजाम गर्‍यौं । अझै माग सम्बोधन भएन भने फागुन २१ गतेदेखि माईतिघर मण्डलामा धर्ना दिनेछौं ।'

चक्काजाम रोक्न खोज्दा प्रहरी र किसानबीच सामान्य ठेमलठेल समेत भएको थियो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।