संसद्जस्तो संवेदनशील स्थानमा किन सुरक्षा लापरबाही ?

कडा सुरक्षा घेरा तोडेर लघुवित्तपीडितले गरे संसद् भवनभित्रै प्रदर्शन
छानबिन गर्न तीन सदस्यीय समिति गठन
फाल्गुन १४, २०८० |अञ्जना लामिछाने
संसद्जस्तो संवेदनशील स्थानमा किन सुरक्षा लापरबाही ?

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको लामो समय भइसक्यो । कानुनतः यहाँ कुनै पनि खालका प्रदर्शन तथा विरोध कार्यक्रम गर्न पाइँदैन । त्यसमाथि संघीय संसद् भवन सुरक्षाका हिसाबले उच्च संवेदनशील मानिन्छ । यस्तो स्थानमा आज संसदीय इतिहासमै नसोचेको घटना भयो । संसद् भवनको सुरक्षा घेरा तोड्दै एक हुल प्रदर्शनकारी प्रवेश गरेर नाराबाजी गरे, जतिखेर संसद् बैठक बसिरहेको थियो । यति संवेदनशील स्थानमा किन भयो सुरक्षा लापरबाही ? आखिर कहाँ चुक्यो सुरक्षा निकाय ?

आफ्ना मागबारे सरकारको ध्यानाकर्षण गराउन एक साताअघि काठमाडौं आएका लघुवित्तपीडितले बालुवाटारस्थित राष्ट्र बैंक नजिक धर्ना दिँदै आएका थिए । तर, उनीहरू संसद् भवन पनि आउलान् भन्नेबारेमा सुरक्षा निकायको गुप्तचर संयन्त्रलाई पत्तै थिएन । आन्दोलनकारीहरू एक-दुई जना थिएनन्, ४९-४९ जनाको समूह नै संसद् भवन परिसरभित्र प्रवेश गरेर नाराबाजी गर्दा पनि सुरक्षा निकाय निरीह बन्यो । 

अरुबेला सुरक्षा निकायको बाक्लो उपस्थिति रहने र कडा चेकजाँच हुने २ नम्बर गेटमा जम्मा ४ सुरक्षाकर्मी मात्र थिए, जसले उनीहरूलाई रोक्न सकेनन् । जानकारहरू संसद् भवन उच्च संवेदनशील क्षेत्र भए पनि सुरक्षा निकायबीचको समन्वय अभावका कारण यो घटना भएको बताउँछन् । 

आन्दोलनकारी विनाअवरोध र विना सुरक्षा जाँच प्रवेश गरे । झन् त्यसमाथि संसद् बैठक चलिरहेकै बेला सुरक्षा घेरा तोडेर आन्दोलनकारी प्रवेश गर्नुलाई सामान्य रूपमा लिन नहुने सुरक्षा अधिकारीको भनाइ छ । यसले देशको सुरक्षा कति कमजोर छ भन्ने विषयलाई उजागर गरेको छ ।

चौबिसै घण्टा सुरक्षा घेरामा रहने संसद् भवन परिसरभित्र झन्डै चार दर्जनको संख्यामा एकसाथ आन्दोलनकारी प्रवेश गर्नु सामान्य घटना होइन । यसमा भएको कमजोरी र त्रुटिको गम्भीर समीक्षा गर्नै पर्छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।