चक्रवात ‘मोन्था’का कारण देशभरको मौसममा असर पर्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह

कार्तिक १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
चक्रवात ‘मोन्था’का कारण देशभरको मौसममा असर पर्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण देशभरको मौसममा असर पर्ने भन्दै उच्च सतर्कताका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। 

बिहिबार र शुक्रबार अधिकांश भागमा पानी पर्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म रहनेछ। चक्रवात 'मोन्था'को सिधा प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्नेछ। 

मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

सम्भावित वर्षा र हिमपातका कारण आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेको भन्दै सचेत रहन अपील गरिएको छ। प्राधिकरणले सबै सम्बन्धित निकाय र सर्वसाधारणलाई अत्यावश्यक नभइ यात्रा नगर्न अनुरोध गरेको हो ।

प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.