
सोलुखुम्बु । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिनुभयो ।
हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताउनुभयो । हेलिकप्टरका पाइलट विवेक खड्का भने सकुशल रहेको उहाँले जानकारी दिनुभयो ।
लुक्ला विमानस्थलका अनुसार बिहान सवा आठ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले पनि क्याप्टेन खड्कालाई खासै केही नभएको जानकारी आएको बताउनुभयो । क्याप्टेन खड्कालाई लिन लुक्लाबाट कैलाश एयरको हेलिकोप्टर गएको छ।