न्यूजिल्यान्डले एक खेलअगावै जित्याे इंग्ल्यान्डविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज

कार्तिक १२, २०८२ |खेल ब्युरो
न्यूजिल्यान्डले एक खेलअगावै जित्याे इंग्ल्यान्डविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज

काठमाडौं । घरेलु टोली न्यूजिल्यान्डले एक खेलअगावै इंग्ल्यान्डविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । 

न्यूजिल्यान्डले सन् २०१३ पछि पहिलो पटक द्वीपक्षीय सिरिजमा इंग्ल्यान्डलाई पराजित गरेको हो । बुधबार सम्पन्न दोस्रो एकदिवसीय खेलमा घरेलु टोली ५ विकेटले विजयी भएको हो । घरेलु मैदानमा इंग्ल्यान्डविरूद्ध न्यूजिल्यान्ड २००८ पछि पहिलो पटक सिरिज जित्न सफल भयो । हाल सिरिज जितीसकेको न्यूजिल्यान्ड २-० ले अघि छ ।

सिडन पार्क ह्यामिल्टजनमा न्यूजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले खराब प्रदर्शन गर्‍यो । ३३ ओभर १ बलमा उसले १ सय ७७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जेमी स्मिथ १३, जो रूट २५, ज्याकोव ब्याथल १८ र कप्तान ह्यारी ब्रुक ३४ रनमा बाहिरिए । स्याक करन १७ र जेमी ओभरटनले ४२ रनको योगदान दिए । न्यूजिल्यान्डका लागि ब्लेयर टिकनरले ४ विकेट हात पारे । नाथन स्मिथको नाममा २ विकेट रह्यो ।

जवाफमा न्यूजिल्यान्डले ३३ ओभर १ बलमा ५ विकेट गुमाउँदै जित पक्का गर्‍यो । ओपनर विल योङ्ग खाता नखोल्दै बाहिरिए पनि रचिन रविन्द्रले ५४ रनको अर्धशतकीय योगदान दिए । केन विलयम्सन २१ रनमा बाहिरिए । ड्यारेल मिचेल ५४ र कप्तान मिचेल सान्टनर ३४ रनमा अविजित रहँदै न्यूजिल्यान्डलाई एक खेल अगावै सिरिज दिलाए । 

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले ३ विकेट लिए । यससँगै २०२३ विश्वकप जितेपछि इंग्ल्यान्डले २५ एक दिवसीयमा यो १७औं हार हो । यस अवधिमा उसले ८ खेल मात्र जितेको छ । २०२३ पछि खेलेका ७ द्वीपक्षीय एकदिवसीय सिरिजमध्य इंग्ल्यान्डले ६ सिरिज गुमाएको छ । दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।