बाँके । २३ दिनदेखि हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुप्रति उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपमानजनक अभिव्यक्ति दिएका छन् । न्याय मार्चमा आएका मिटरब्याज पीडितको काठमाडौं केन्द्रित न्याय मार्चलाई उनले जनतालाई गुमराहमा राख्ने खेलको संज्ञा दिए ।
लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकपछि शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले मिटरब्याज पीडितले न्यायका लागि काठमाडौं आउनै नपर्ने भन्दै सम्बन्धित जिल्लाबाटै न्याय पाउने दाबी गरे । जबकि, न्याय मार्चमा आएका पीडितहरुले जिल्लाबाट कुनै समस्या समाधान नभएको बारम्बार बताइरहेका छन्, रोइरहेका छन् । उनीहरुको समस्या के-कस्तो हो भनेर २३ दिनदेखि हिँडिरहेका पीडितलाई एकपटक पनि भेट्न रुचि नराखेका गृहमन्त्री श्रेष्ठले ‘आफ्नो उजुरीमाथि के हुँदै छ भनेर जिल्लामा बुझ्नुको साटो हिँडेर काठमाडौं पुग्नु जनतालाई गुमराहमा पार्ने काम’ भएको प्रतिक्रिया दिएका हुन् ।
गृहमन्त्रीले मिटरब्याजी जस्तो समान्तवादको निकृष्ट स्वरुप देखिएपछि पीडितलाई न्याय दिन सरकारले कानुन नै बनाइसकेको बताए । अब समाधानको मार्ग केन्द्र नभएर जिल्ला भएको पनि उनले दाबी गरे । उनले अहिलेसम्म २६ हजार उजुरी प्राप्त भएको र साढे ५ हजारले न्याय पाइसकेको भन्दै कयौंका तमसुक च्यातिएको जानकारी दिए ।
यसैक्रममा आयोग विघटन भएका कारण सरकारलाई प्राप्त बाँकी सबै उजुरी जिल्ला प्रशासन र प्रहरी कार्यालयमा पठाइएको हुँदा जिल्ला प्रशासनले स्वेच्छिक मेलमिलापका लागि आह्वान गरी उतैबाट समाधान खोज्ने गृहमन्त्री श्रेष्ठले जनाए । तर, काठमाडौं आइपुगेका पीडितहरुले भने मिटरब्याजी साहुहरु उपलब्ध नहुनाले समस्या ज्यूँका त्यूँ रहेको र प्रमुख जिल्ला अधिकारीहरुसमेत पीडककै पक्षमा देखिएको जस्ता गुनासो गरिरहेका छन् ।