काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आज सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् ।
तीन दिनसम्म चल्ने विधान सम्मेलनले पार्टीको विधान परिमार्जन गर्नेछ । स्थायी समितिले तयार पारेको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाट समेत सुझाव संकलन गरिसकेको छ । विधानमार्फत साङ्गठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ ।
केन्द्रीय समितिको आकार घटाउने माओवादीको तयारी छ । सम्मेलनअघि बसेको माओवादी केन्द्रीय समिति बैठकमा पनि नयाँ विधानको मस्यौदामा छलफल भएको थियो ।