‘खुट्टी खोला’मा चिनियाँको अवरोध, पत्रकार महासंघले गर्‍यो निन्दा

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
‘खुट्टी खोला’मा चिनियाँको अवरोध, पत्रकार महासंघले गर्‍यो निन्दा

सिरहा । लहान नगरपालिका १५ स्थित ‘खुट्टी खोला’मा समाचार संकलनका लागि गएका पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको छ । निर्माणमा संलग्न चिनियाँ कम्पनीका कर्मचारीहरूले पत्रकारहरुलाई समाचार संकलनमा अवरोध गरेका हुन् ।

सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी चाइन रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपका कर्मचारी एवं खोला साइट इन्चार्ज हुस्या छ्याङको निर्देशनमा टिपर र एक्साभेटरले सञ्चारकर्मीहरूलाई पछ्याउँदै धुलो उडाएर, तर्साएर अवरोध गरेका थिए ।

यस्तै सञ्चारकर्मीलाई निर्मम र अवैध रूपमा खोला दोहन चलिरहेको स्थलसम्म जान नदिने मनसायले ठेकेदार कम्पनीले सञ्चालन गर्दै आएको क्रसरनजिकै बाटोमा एक्साभेटरले खाल्डो खनेर अवरोध गरिएको थियो ।

सञ्चारकर्मीमाथिको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासंघ सिरहाले ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष मनोज बनैताद्वारा सोमबार जारी विज्ञप्तिमार्फत महासंघले घटनाको निन्दा गर्दै घटनामा संलग्नमाथि कारबाहीको मागसमेत गरेको छ ।

सरोकारवाला र नियामक निकायको मिलेमतोमा हुँदै आएको खोलाको अवैध दोहनको विषयमा समाचार संकलन गर्न कान्तिपुर टेलिभिजनका विनय आजाद र हिमालयन टेलिभिजनका सुरेश राय गत बुधबार खोला क्षेत्रमा पुगेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.