न्याय माग्दै सुदूरपश्चिमबाट मार्चपास थालेका मिटरब्याजीपीडित पश्चिम नवलपरासीमा

पूर्वबाट आउँदै गरेको टोलीलाई फागुन १ गते चितवनमा भेटेर संयुक्तरुपमा काठमाडौं आउने
माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
न्याय माग्दै सुदूरपश्चिमबाट मार्चपास थालेका मिटरब्याजीपीडित पश्चिम नवलपरासीमा

काठमाडौं । न्यायको माग गर्दै मार्चपास आन्दोलन सुरु गरेका मिटरब्याजीपीडित पश्चिम नवलपरासी आइपुगेका छन् । हिजो १२ औँ दिनमा बर्दघाट आइपुगेका उनीहरुले आज त्यहीँ आराम गर्ने छन् ।

माघ १६ गते कन्चनपुरको गड्डाचौकीबाट मार्च पास सुरु गरेका मिटरव्याजीपीडितहरू करिब ४ सय ५० किलोमिटर दूरी पैदल यात्रा गर्दै नवलपरासी आइपुगेका हुन् ।

सरकारले बनाएको जाँचबुझ आयोगबाट पनि न्याय नपाएको भन्दै पीडितहरु निर्णायक आन्दोलन भन्दै मार्चपासमा निस्किएका हुन् । संघर्ष समितिले मिटरब्याजसम्बन्धी कानुन संशोधन र न्यायिक आयोग गठन गर्नुपर्नेलगायतको ६ बुँदे माग राख्दै मेची-महाकालीबाट एक साथ पैदल यात्रा सुरु गरेको हो ।

पूर्वबाट आउँदै गरेको टोली आज बिहान बाराको निजगढबाट अगाडि बढेको संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले बताए । पूर्व र पश्चिमबाट पैदल यात्रा गरेका पीडितहरू फागुन १ गते चितवनमा भेट भएर संयुक्तरूपमा काठमाडौं आउने छन् ।

पैदल यात्रामा रहेका अधिकांशमा खुट्टा सुन्निने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.