रुस-युक्रेन युद्धमा लमजुङका साजन गुरुङको मृत्यु

माघ २, २०८० |आश गुरुङ
रुस-युक्रेन युद्धमा लमजुङका साजन गुरुङको मृत्यु

लमजुङ । रुस-युक्रेन युद्धमा लमजुङका एक युवाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा लमजुङको दूधपोखरी गाउँपालिका १, घामर चोकका ३२ वर्षीय साजन गुरुङ छन् ।

साजन वैदेशिक रोजगारीका लागि भन्दै गत भदौ पहिलो साता विदेश उडेका थिए । खाडी मुलुक जान्छु भनेर हिँडेका साजन रुसी सेनामा भर्ती भएको जानकारी उनको परिवारले असोजमा मात्र पाएको थियो ।

रुस पुगेपछि रुसी सेनाको ड्रेस लगाएर खिचेको फोटो पठाएका साजन केही समयपछि बेपत्ता भएका थिए । उनीबारे परिवारका सदस्यले कुनै सूचना नै पाएका थिएनन् ।

साजनका बुबा श्रीमान् गुरुङका अनुसार युक्रेनको आक्रमणका साजनको मृत्यु भएको खबर जर्मनीमा रहेका उनका कान्छा छोरा कुमारले पाँच दिनअघि मात्र दिएका थिए । भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते किरियाकर्मसमेत गरिसकेको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

साजनसमेत गरी रुस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ । रुसी सेनामा अवैध तबरले छिर्ने र मृत्यु हुने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement