सरकारले पर्याप्त उपलब्धि हासिल नगरेको एमालेको निष्कर्ष

पुस १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारले पर्याप्त उपलब्धि हासिल नगरेको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले सरकारले ६ महिनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकलाई सेवा प्रवाह, विकास निर्माण साथै अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, “सरकार गठनयताको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको, केही महत्त्वपूर्ण कामहरू भएको छ । थुप्रै कामहरू गर्न बाँकी रहेको हुनाले बाँकी काम छिट्टै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ ।”

साथै उहाँले सचिवालय बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण पनि गरिएको बताउनुभयो । “पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्ति लगायत सबै विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पार्नुभएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने पनि निर्णय गरेको छ । उपमहासचिव ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement