सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन

पुस २६, २०८० |कान्तिपुर टीभी संवाददाता
सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारका क्रिकेट खेल गतिविधिबाट लामिछानेलाई निलम्बन गरिएको क्यानले जनाएको छ ।

बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बुधबार सजाय निर्धारण गर्दै ८ वर्ष जेल सजायको फैसला गरेको थियो । अदालतको सोही फैसला बमोजिम लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलका गतिविधिबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘...राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भई साजय निर्धारणसमेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ ।’

                       जबरजस्ती करणीका दोषी सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग खेल्न जमैका थिए । जाहेरी लगत्तै केही समय सम्पर्कविहीन सन्दीप असोज २० गते नेपाल फर्किंदा विमानस्थलबाटै पक्राउ परेका थिए । प्रहरी हिरासतमा राखेर अनुसन्धान गरी कात्तिक १५ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा पुर्पक्षका लागि सन्दीपलाई १८ गते थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई २०७९ पुस १८ गते देश बाहिर जान नपाउने सर्तसहित अदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने दुवै सर्वोच्च पुगेका थिए ।

दुवै रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमतिसमेत दिएको थियो । २०७९ कात्तिक १५ गतेदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दामा २९ पटक पेसी तोकिएपछि गत पुस ८ गतेदेखि निरन्तर सुनुवाइ गरी फैसला भएको हो ।

जन्म दर्तालगायतका कागजातका आधारमा पीडितको जन्ममिति २०६१ असार १८ गते देखिएको अदालतले जनाएको छ । कसुर ठहर हुँदा सन्दीप वीरगन्जमा खेलिरहेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.