जबरजस्ती करणीका दोषी सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला
पुनरावेदन जाने दुवै पक्षको तयारी
पुस २५, २०८० |सुबिन्द्र श्रेष्ठ
जबरजस्ती करणीका दोषी सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने ८ वर्ष जेल बस्नुपर्ने भएको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष जेल र ३ लाख जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपले पीडितको नाजुक आर्थिक अवस्थाको लाभ उठाउँदै करणी गरेको देखिएको ठहर गरेको हो । अदालतले जबरजस्ती करणी मुद्दामा मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ को 'ङ' मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था बमोजिम सन्दीपलाई ८ वर्षको सजाय निर्धारण गरेको हो । 

अदालतले पीडित र सन्दीपको उमेर तथा घटनास्थलको अवस्थाका साथै पीडितको सामाजिक तथा मानसिक अवस्थालाई समेत मध्यनजर गर्दै सजाय निर्धारण गरेको जनाएको छ ।

त्यसो त पुस १३ गते नै अदालतले लामिछानेलाई दोषी रहेको ठहर गरेको थियो । तर कैद र जरिवानाको फैसला भने आज मात्र सुनाएको हो । अदालतले ३ लाख जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति दुवै असुली पीडितलाई दिलाउने आदेश दिएको छ ।

अदालतले कैद र जरिवाना सुनाउँदै गर्दा सन्दीप भने सम्पर्कविहीन छन् । उनले जिल्लाको फैसला चित्त नबुझाएमा उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । सन्दीपका कानुन व्यवसायीले अदालतको फैसलाको पूर्ण पाठ आएपछि पुनरावेदन जाने बताएका छन् ।

पीडितका कानुन व्यवसायीले पनि घटनाका बेला पीडित नाबालिग नै भएको भन्दै पूर्ण पाठपछि उच्च अदालतमा पुनरावेदन दिने बताएका छन् ।

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग खेल्न जमैका थिए । जाहेरी लगत्तै केही समय सम्पर्कविहीन सन्दीप असोज २० गते नेपाल फर्किँदा विमानस्थलबाटै पक्राउ परेका थिए। प्रहरी हिरासतमा राखेर अनुसन्धान गरी कात्तिक १५ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा पुर्पक्षका लागि सन्दीपलाई १८ गते थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई २०७९ पुस १८ गते देश बाहिर जान नपाउने सर्तसहित अदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने दुवै सर्वोच्च पुगेका थिए ।

दुवै रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमतिसमेत दिएको थियो । २०७९ कात्तिक १५ गतेदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दामा २९ पटक पेसी तोकिएपछि गत पुस ८ गतेदेखि निरन्तर सुनुवाइ गरी फैसला भएको हो ।

जन्म दर्तालगायतका कागजातका आधारमा पीडितको जन्ममिति २०६१ असार १८ गते देखिएको अदालतले जनाएको छ । कसुर ठहर हुँदा सन्दीप वीरगन्जमा खेलिरहेका थिए ।

यो पनि...

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद ५ लाख जरिवाना (भिडियोसहित)


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।