क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद ५ लाख जरिवाना (भिडियोसहित)

पुस २५, २०८० |कान्तिपुर टीभी संवाददाता
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद ५ लाख जरिवाना (भिडियोसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि लामिछानेलाई गत पुस १३ गते दोषी ठहर गरिएको थियो । आजको पेसीबाट लामिछानेको कैद सजाय ८ वर्ष तथा ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति गरी पाँच लाख रुपैयाँ तिर्नुपर्ने सजाय तोकेको हो ।

अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम तीन लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्ति बापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (६) (१) ०७९/०८० लाई भराइदिने ठहर गरको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौंको फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने उनका वकिल सरोजकृष्ण घिमिरेले जनाए ।

पुस १३ गते भएको सुनुवाइमा सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि जवाफी बहस भएको थियो । त्यसक्रममा पीडित गौशाला-२६ (परिवर्तित नाम) ले समेत आफ्ना कुरा राखेकी थिइन् । उनले कुरा राखेपछि न्यायाधीश ढकालले लामिछानेलाई दोषी ठहर गरेका थिए ।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध गौशाला-२६ ले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटेलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर फर्किने क्रममा असोज २० गते त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।

कात्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

थुनामुक्त भएपछि उनले नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.