अपडेट : बालकुमारीमा प्रदर्शन गर्ने १८ जना पक्राउ

पुस १३, २०८० |रमेश धमला
अपडेट : बालकुमारीमा प्रदर्शन गर्ने १८ जना पक्राउ

काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका प्रहरी प्रमुख दीपक थापाका अनुसार अहिलेसम्म १८ जनालाई पक्राउ गरिसकेको र घटनामा संलग्न बाँकीको खोजी भइरहेको छ ।

यसैबीच प्रहरीको गोली लागेर घाइते भएका एक युवकको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा.२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । ईपीएसका लागि आवेदन फाराम भर्न नपाएको भन्दै केही युवाले मन्त्रीको गाडीमा आगजनी गरेका थिए ।

जहाज निर्माणसम्बन्धी कामका लागि परीक्षा दिएका तर त्यसमा उत्तीर्ण नभएकाहरूले आफूहरूलाई उत्पादनमूलक कोटामा पनि फाराम भर्न दिइनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

सन् २०२४ मा कोरिया सरकारले करिब १६ हजार युवा लैजाने नीति लिएको छ । कोरियाको रोजगार अनुमति प्रणाली-ईपीएसअन्तर्गत भाषा परीक्षामा यसपटक एक लाख ४३ हजारभन्दा बढीको आवेदन परेको छ । आवेदनका लागि तोकिएको पाँच दिनमा एक लाख ४३ हजारभन्दा बढीको आवेदन परेको हो । सन् २०२४ का लागि कोरिया सरकारले नेपाललाई १६ हजार जनाको कोटा उपलब्ध गराएको छ ।

यो पनि...

कोरियाका लागि उत्पादनमूलक कोटामा फाराम भर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन, मन्त्रीको गाडीमा आगजनी

आन्दोलनमा गोली लागेका एक प्रदर्शनकारीको मृत्यु, ५ जना पक्राउ


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।