आन्दोलनमा गोली लागेका एक प्रदर्शनकारीको मृत्यु, ५ जना पक्राउ

पुस १३, २०८० |कान्तिपुर टीभी संवाददाता
आन्दोलनमा गोली लागेका एक प्रदर्शनकारीको मृत्यु, ५ जना पक्राउ

काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका एक युवकको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा.२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । ईपीएसका लागि आवेदन फाराम भर्न नपाएको भन्दै केही युवाले मन्त्रीको गाडीमा आगजनी गरेका थिए ।

यसैक्रममा मन्त्रीको गाडीमा आगजनी गर्ने पाँचजना पक्राउ परेका छन् । प्रहरी प्रवक्ता (प्रहरी नायब महानिरीक्षक) कुबेर कडायतका अनुसार अहिलेसम्म ५ जना पक्राउ परेको र बाँकीको खोजी भइरहेको छ ।

जहाज निर्माणसम्बन्धी कामका लागि परीक्षा दिएका तर त्यसमा उत्तीर्ण नभएकाहरूले आफूहरूलाई उत्पादनमूलक कोटामा पनि फाराम भर्न दिइनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

सन् २०२४ मा कोरिया सरकारले करिब १६ हजार युवा लैजाने नीति लिएको छ । कोरियाको रोजगार अनुमति प्रणाली-ईपीएसअन्तर्गत भाषा परीक्षामा यसपटक एक लाख ४३ हजारभन्दा बढीको आवेदन परेको छ । आवेदनका लागि तोकिएको पाँच दिनमा एक लाख ४३ हजारभन्दा बढीको आवेदन परेको हो । सन् २०२४ का लागि कोरिया सरकारले नेपाललाई १६ हजार जनाको कोटा उपलब्ध गराएको छ ।

कोरियाका लागि उत्पादनमूलक कोटामा फाराम भर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन, मन्त्रीको गाडीमा आगजनी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.