किरात समुदायले धूमधामका साथ मनाए उँधौली

पुस १०, २०८० |अवतार राई
किरात समुदायले धूमधामका साथ मनाए उँधौली

ललितपुर । किरात समुदायले आज सघन बसोबास भएको पूर्वी पहाडी जिल्लासँगै संघीय राजधानी काठमाडौँमा समेत धूमधामका साथ उँधौली अर्थात् साकेला पर्व मनाएका छन् । 

किराँत समुदायले प्रत्येक वर्ष मङ्सिरे पूर्णिमाका दिन पितृको सम्झना र प्रकृतिको सम्मानका लागि साकेला पर्व मनाउने गर्छन् । वैशाखे पूणिर्मामा उभौली र मङ्सिरे पूणिर्मामा उँधौली गरी यी समुदायले वर्षमा दुई ठुला चाड मनाउने गर्छन् । 

मङ्सिर शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुने उँधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको सङ्केत गर्न तथा पाकेको अन्नबाली भित्र्याइएको खुसीयालीमा धूमधामकासाथ मनाइन्छ । पुर्खालाई सम्झँदै र शुभकामना आदान प्रदान गर्दै संगठित रूपमा यो पर्व मनाउने गरिन्छ ।

किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाहरूले उँधौली पर्व परम्परागत भेसभुसामा सजिएर सार्वजनिक स्थलमा भेला भएर पितृको पूजा गरी सामूहिक रूपमा मनाउँछन् । किरात राईहरूले साकेला, साकेन्वा, साकेवा, लिम्बुले चासोक तङनाम, याक्खाले चासुवा र सुनुवारले फुलस्यादर नाम दिई उँधौली मनाउने प्रचलन छ । 

खेती किसानी र जाडो गर्मीलाई आधार बनाएर किराँत समुदायले उँधौली र उभौली मनाउँदै आएका हुन ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।