काठमाडौं । तिहारका लागि बजारमा भाइमसलाको बिक्री-वितरण बढेको छ । पछिल्लो समय तिहारको टीका लगाउँदा भाइमसला अनिवार्य जस्तै भएको छ । विगतमा सीमित समुदायमा मात्र भाइमसलाको चलन थियो । तर भाइमसलाको सहज आयात र बजारमा जताततै पाउन थालेपछि अहिले प्रायः सबैले तिहारमा भाइमसला दिने चलन बढेको हो ।
तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई भाइमसला दिने चलन कहिले सुरु भयो ? काजु, पेस्ता, सुकमेल, ओखर, कटुसजस्ता सामग्रीको मिश्रणसहित भाइमसलामा रुपमा प्रयोग हुने अधिकांश खानेकुराको उत्पादन नेपालमा हुँदैन । कतिपय खानेकुरा त पश्चिम अफ्रिकी देशदेखि आयात गरिन्छ । नेपालमा उत्पादन नै नहुने यस्ता सामग्रीसहितको भाइमसला नेपाली चाडको महत्त्वपूर्ण हिस्सा कसरी र कहिलेदेखि बन्यो ?
जानकारहरुका अनुसार मल्लकालभन्दा अघिदेखि नै तिहारका बेला दिदीबहिनीले दाजुभाईलाई दिने चलन चलेको हो । त्यतिबेला स्थानीय रुपमै उपलब्ध खानेकुरा प्रयोग हुने गरेकोमा समयसँगै आयातका कारण उपलब्धता बढेपछि काजु, किसमिस र पेस्ताजस्ता सामग्री पछि थपिएका हुन् । आजभोलि भाइटीकामा अनिवार्य मानिए पनि विगतमा शासक वर्ग र उच्च पदस्थ अधिकारीहरुले मात्र यसको बढी प्रयोग गर्ने गरेको संस्कृतिविदको भनाइ छ ।
‘पहिला मसला भनेको धार्मीक दृष्टिकोणले भगवानलाई चढाइन्थ्यो । पहिला पान मसला भनेर चढाइने चलन थियो र जब हाम्रो आर्थिक दृष्टिकोणले पनि अनि सांस्कृतिक दृष्टिकोणले पनि बिस्तारै मसलाको प्रयोग बढ्दै आयो,’ संस्कृतिविद् कल्पना श्रेष्ठले भन्नुभयो, ‘सुरुमा मसला राजदरबारमा प्रयोग हुनथ्यो । ठूला व्यक्तिहरुको घरमा प्रयोग हुन्थ्यो ।’
त्यसो त अहिले पनि केही ठाउँमा भाइटीकाका दिन दाजुभाइलाई दिदीबहिनीले भाइमसला दिने चलन छैन । भाइमसला दिने चलन धेरै ठाउँमा पुगे पनि कतिपय ठाउँमा स्थानीय पकवानकै रोटी, फलफूललगायतको प्रयोग हुने गरेको छ ।
तिहार नेपालीहरुको मौलिक सांस्कृतिक पर्व मानिन्छ । सामाजिक खुकुलोपना र मानिसहरुको बाहिरी संसारसँगको अन्तर्क्रियाले हाम्रा संस्कृति र परम्पराहरुमा परिष्कार र परिमार्जन हुँदै जानु स्वभाविक हो । तर चाडपर्वको मौलिकता जोगाउने जिम्मेवारी भने समुदायकै हो । अर्कोतर्फ आफ्नो गच्छेअनुसार मात्र खर्च गर्ने प्रवृत्तिले जुनसुकै पर्व उल्लासमय बन्न सक्छ ।