सल्यानमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ जना घाइते

कार्तिक १२, २०८१ |सरिता चलाउने
सल्यानमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ जना घाइते

कार्तिक । सल्यानमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सल्यानको कपुरकोट गाउँपालिका-६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको कपुरकाेट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको घटना स्थलमै एकजनाको बाटोमा मृत्यु भएको हो । मृत्यु हुनेमा सबै बालबालिका रहेका छन् ।

घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारको लागि कपुरकाेट गाउँपालिकाको अस्पतालमा राखिएको बताउनु भयो । घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएको बताउनु भयो ।

उहाँका अनुसार दुर्घटनामा परेको मिनीट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उहाँको भनाइ छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।