सहकारी ठगीमा हिरासतमा रहेका रवि लामिछानेको दोस्रो पटक बयान

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगीमा हिरासतमा रहेका रवि लामिछानेको दोस्रो पटक बयान

पोखरा । सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज सरकारी वकिल कार्यालयले दोस्रो पटक बयान लिएको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई बयानका लागि आज बिहान साढे १० बजे सरकारी वकिल कार्यालय लगिएको थियो । लामिछानेमाथि कास्कीमा जिल्ला न्यायाधिवक्ता कमला काफ्ले लगायत अनुसन्धान अधिकृतहरुले बिहानदेखि बेलुका करिब साढे सात बजेसम्म बयान लिएका थिए ।

कास्की अदालतबाट दोस्रो पटक ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय पाएको प्रहरीले यसअघि एक दिन ४ घण्टा बयान लिएको थियो । पोखराको सूर्यदर्शन सहकारीसहित ५ सहकारीको करोड ६५ करोड गोरखा मिडियामा लागेर हिनामिना गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो ।

रविमाथि सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन २०७४, संगठित अपराध निवारण ऐन २०६४, र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ । प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म अदालतबाट म्याद लिएर अनुसन्धान गर्न पाउँछ । कार्तिक १५ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको प्रहरीले अब तिहार बिदा पर्ने भएकाले कात्तिक २० गते मात्र अदालत पेस गर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.