डोटी । सरकारले हलिया प्रथा अन्त्य गरेको १५ वर्षभन्दा बढी भयो । तर सरकारी नीति र कागजमा मुक्त भनिए पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका हलिया अझै बन्धनमा छन् । उनीहरूले न वर्षौँदेखि बस्दै आएको जमिनको स्वामित्व पाएका छन् न सरकारको मुक्तिको सूचीमा छन् । जसका कारण हरेक दिन साहुले जमिन खोस्ने त्रासमा उनीहरू छन् ।
मुक्तहलिया मध्येकी हुन् शिखर नगरपालिका-८ बेलचौरकी विस्ना दमाईं । जसको हलिया भइन् उसैले अस्थायी ढंगले गुजारा चलाउन दिएको जमिनमा विस्ना बस्दै आएकी छन् । यो जमिनको मूल्य पनि चुकाई सकेकी छन् । तर नामसारी नगरिदिँदा कुन बेला उठिबास लगाउने हुन् भन्ने चिन्तामा उनी छिन् ।
‘अर्काको माटोमा बसेका छौँ’, विस्नाले भनिन्, ‘मेरो जग्गामा घर बनायौ, अब उठेर जाऊँ भनेपछि जानु पर्यो । तर कहाँ जानु ?’
विस्नाको जस्तै अवस्था छ वडा नम्बर १० ठूलोखोलाकी सुन्दरी दमाइ र बाटुदेवी दमाइको । बसेको बस्तीबाट लखेटिने धम्कीका कारण उनीहरू हलियाकै रूपमा काम गर्दै आएका छन् ।
तीन पुस्तादेखि हलिया बस्दै आएका टिका भूल सरकारले २०६५ भदौ २१ गते हलिया मुक्ति गरेपनि अनगिन्ती बन्धनले बाँधिएको बताउँछन् । यहाँका एक सय हलिया परिवार मध्ये २७ जना मात्र मुक्तिको सूचीमा परे ।
उनीहरूले ५ देखि ६ लाख रुपैयाँ पाए । तर बाँकीलाई सूचीमा पर्नबाटै छुटाइ दिँदा सरकारी सुविधाबाट वञ्चित छन् । त्यसो त डोटी बेलचौर र ठूलोखोलाका हलिया तथा दलित समुदाय जातीय विभेदको सिकार हुँदै आएका छन् । कतिसम्म भने पानी वितरणमा समेत विभेद छ ।
जग्गा धनीहरू यहाँका मुक्त हलिया तथा गरिबलाई बस्ती खालिगर भन्दै धम्काउन आउँदा रुँदै रात काटन विवश छन् । कतै उजुरी गरे लखेटिने धम्की आउने गरेको महिलाहरूको गुनासो छ । अत्याचार सहँदै आएका दलितहरू न्यायको खोजी गर्दा वा उजुरी गर्न जाँदा, भएको बास समेत खोसिने त्रासमा छन् ।