बाजुरा । बूढीनन्दा नगरपालिकाकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् ।
बूढीनन्दा नगरपालिका ४, कुरुकी ३१ वर्षीया पानसरा रोकायाले तेस्रो सन्तान पनि बाटोमै जन्माएकी हुन् । उनले यसअघिका दुई बच्चा पनि काम गर्न गएका बेला बाटो र जंगलमा जन्माएकी थिइन् ।
व्यथा लाग्नेबित्तिकै पानसरा एक्लै आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा मंगलबार बाटोमै छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराले जानकारी दिइन् । धर्माले भनिन्, ‘आफू एक्लै स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि सहयोग गरेकी हुँ ।’
पानसरालाई अत्यधिक रक्तस्राव भएको थियो । बाटोबाट उद्धार गरेर उनलाई स्वास्थ्य चौकी लगेको धर्माले बताइन् । कोही आफन्तसँगै नभएकाले एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा पानसरले बाटोमा बच्चा जन्माएको चँदराको भनाइ छ ।
बाजुरामा पानसरी मात्र नभई धेरै आमा बाटोमै सुत्केरी हुने रुगिन चौकीमा कार्यरत विमला पाण्डे बताउँछिन् । केही महिनाअघि काँडाकी ३२ वर्षीया उज्जलीले सुनारले बाटोमै छोरी जन्माएकी थिइन् । यस्तै बाजुराको गौमुल गाउँपालिका ३, माँझपाली बस्ने २१ वर्षीया भाग्य चँदाराले पनि बाटोमै बच्चा जन्माएकी थिइन् । हिमाली गाउँपालिका १, बामुकी नानी रोकायाले पनि बाटोमै बच्चा जन्माएकी हुन् ।
त्यस्तै हिमाली गाउँपालिका २, नातिखोलाकी २३ वर्षीया पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेलामा बाटोमै बच्चा जन्माइन् । वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने क्रममा उनले पनि बाटोमै छोरा जन्माइन् । यस्तै स्वामीकार्तिक खापर गाउँपालिका १, मुक्तिकोटकी ३५ वर्षीय कार्तिका विकले पनि बाटोमै बच्चा जन्माएकी हुन् । व्यथाले च्याप्नेबित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा ताहाडा खोलानजिकै बाटोमा कार्तिकाले छोरा जन्माएकी थिइन् ।
बाजुरामा ४ वर्षयता १२ सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित जाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुर्याउँदा यस्तो हुने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काको भनाइ छ । जिल्लामा यकिन तथ्यांक नभए पनि महिनामा एकदेखि दुई महिला बाटोमै सुत्केरी हुने खड्का बताउँछन् ।
तस्बिर : धर्मा चँदारा