डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका दलित समुदायका मुक्त हलिया गरिबीका कारण कष्टकर जीवन बाँचिरहेका छन् । जीवनको उत्तरार्द्धसम्म अर्काको खेतबारीमा हलो कोदालो गरेका मुक्त हलियामध्ये धेरैजसो औषधि उपचार गर्न नसक्दा घरैमा थला परेका छन् । हेर्दा निकै सुन्दर र मनमोहक देखिने पहाडी बस्तीभित्र मुक्त हलियाका दु:खका कथाव्यथा कहाली लाग्दा छन् ।
यस्तै रोग र भोकले थला परेका शिखर नगरपालिका १० का मुक्त हलिया गगने भूल घरमा भित्र-बाहिर गर्न सक्दैनन् । चरम गरिबीका कारण उनले आफ्नो उपचार गर्न सकेका छैनन् । २५ वर्ष अर्कैको खेतबारीमा जोतिँदा-जोतिँदै उनका दायाँ हात र खुट्टा लुलो हुँदै गएर नचल्ने भए । एक दिन त उनी कपडा धुँदाधुँदै पँधेरामै लडे । एक हर (शरीरको एउटा पाटो) नै नचल्ने भएपछि दिसा-पिसाब गर्न जाँदासमेत उनलाई सहारा चाहिन्छ । ‘के भयो के भयो थाहै भएन,’ उनले भने, ‘कामबाट फर्किंदा लडें ।’
यस्तै अवस्था छ सोही वडाका दिमे भोजको पनि । १५ महिनादेखि उनको दायाँ हर (शरीर) चल्दैन । ४० वर्ष हलिया जीवन बाँचेका भोजलाई रोगी ज्यान कसरी पाल्ने भन्ने चिन्ता छ । ‘उपचारका लागि सबैतिर गएँ तर निको भएन,’ उनले भने ।
यी बस्तीमा घरघरै दीर्घरोगी र बिरामी छन् । तर गरिबीका कारण मुक्त हलिया समुदाय स्थानीय स्वास्थ्यचौकीभन्दा परको अस्पतालमा स्वाथ्योपचारका लागि जान सक्दैन । स्थानीय सरकार नगर अस्पताल बनाउने योजनामा रहे पनि बजेट अभाव छ । ‘हामीले आर्थिक सहयोग पनि गरिरहेका हुन्छौं,’ शिखर नगरपालिका डोटीका प्रमुख दीर्घबहादुर बलायरले भने, ‘एम्बुलेन्समा पनि छुट सुविधा दिएकै छौं ।’
फोहोर व्यवस्थापन नहुँदा पनि बिरामी हुने समस्या बढेको वनलेक स्वास्थ्य चौकी डोटीकी स्वास्थ्यकर्मी यशोदा भाटको बुझाइ छ ।
सेती नदीनजिकै पर्ने यहाँका बस्तीका धेरैजसो बासिन्दा अति विपन्न छन् । उनीहरु रोग र भोकसँग लड्दै आएका त छन् नै ऋणको भारले थिचिएका पनि छन् ।