गल्छी गाउँपालिकाको कार्यालयमा वडाध्यक्षको तालाबन्दी

मंसिर १८, २०८० |कान्तिपुर टीभी संवाददाता
गल्छी गाउँपालिकाको कार्यालयमा वडाध्यक्षको तालाबन्दी

धादिङ । अध्यक्ष मनोमानी रुपमा चलेको भन्दै उपाध्यक्ष तथा केही वडाध्यक्षले धादिङको गल्छी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।

आफूअनुकूलको प्रमुख प्रशासकीय अधिकृत ल्याई अध्यक्ष केदारनाथ खतिवडाले दैनिक काम कारबाही गरेको भन्दै उपाध्यक्ष भाइकाजी तिवारीसहितका पदाधिकारीले कार्यालयमै ताला लगाएका हुन् ।

मन्त्रालयले सरुवा गरी पठाएका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपानलाई अध्यक्ष खतिवडाले हाजिर हुन नदिई अर्का प्रमुख प्रशासकीय अधिकृत ल्याएको उपाध्यक्ष तिवारीले आरोप लगाए । उनलाई ४ जना वडाध्यक्षले साथ दिएका छन् । अहिले नरबहादुर विक प्रमुख प्रशासकीय अधिकृत छन् ।

अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर मनोमानी गरेको उनीहरुको आरोप छ । अध्यक्ष खतिवडाले भने न्यौपाने पहिले पनि गल्छी गाउँपालिकामा बसेर गएका कारण नयाँ प्रशासकीय अधिकृत पठाइदिन मन्त्रालयलाई आग्रह गरेको र मन्त्रालयले नै नयाँ अधिकृत पठाएको भन्दै यसमा आफ्नो भूमिका नभएको बताए । गाउँपालिकाको कार्यालयमा तालाबन्दी हुँदा सेवाग्रहीलार्इ समस्या भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.