फाइल तस्बिर
काठमाडौं । कोप–२८ मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किंदै छन् ।
प्रधानमन्त्री दाहाल फ्लाई दुबईको विमानमार्फत आज साँझ ६ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप–२८) मा सहभागी हुन उच्चस्तरीय प्रनिधिमण्डलको नेतृत्व गर्दै गत मंसिर १३ गते प्रधानमन्त्री दाहाल यूएईको दुबई गएका थिए ।
प्रधानमन्त्री दाहालले हिजो (शनिबार) सम्मेलनलाई सम्बोधन गरेका थिए । यसक्रममा उनले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका थिए । साथै उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले नेपालका हिमाललाई यातना दिएको उल्लेख गर्दै पहिला तिनीहरुलाई बचाउन विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
साथै प्रधानमन्त्री दाहालले पर्वतीय एजेन्डालाई प्रवर्धन गर्न ‘हिमालको आह्वान : जलवायु संकटबाट हामीलाई कसले बचाउँछ’ शीर्षकको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेका थिए ।
यसअघि प्रधानमन्त्री दाहाल दुबई जाने क्रममा टिकट काटेका ३१ यात्रुलाई काठमाडौंमै छाडेर गएको भन्दै आलोचना भएको थियो । नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण ती यात्रु छुटेपछि वैकल्पिक व्यवस्था गरेर गन्तव्यमा पठाउनु परेको थियो ।
प्रधानमन्त्री यात्रा गर्ने भएपछि निर्धारित समयभन्दा अगावै जहाज दुबई उड्दा ३१ यात्रु अलपत्र परेका थिए । निगमको कमजोरीका कारण भएको उक्त घटनालाई लिएर प्रधानमन्त्री दाहालको समेत आलोचना भइरहेको छ ।
यो पनि...
कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
प्रधानमन्त्री चढेकै कारण ३१ यात्रु छाडेर दुबई उडेको निगमको व्यवस्थापकीय कमजोरी छताछुल्ल