कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा

मंसिर १४, २०८० |कान्तिपुर टीभी संवाददाता
कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।

स्थानीय समयअनुसार बुधबार राति करिब १ : ३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । दुबई विमानस्थलमा प्रधानमन्त्री दाहाललाई नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि यूएईका राजदूत अब्दुल्ला एम साम्सी लगायत यूएईस्थित दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहालले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

कोप–२८ आजदेखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम छ । उनले डिसेम्बर २ मा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.