प्रधानमन्त्री चढेकै कारण ३१ यात्रु छाडेर दुबई उडेको निगमको व्यवस्थापकीय कमजोरी छताछुल्ल

आलटाले जवाफ दिएर पर्यटनमन्त्री सुदन किराती जिम्मेवारीबाट पन्छिँदै
मंसिर १४, २०८० |भरत रावल
प्रधानमन्त्री चढेकै कारण ३१ यात्रु छाडेर दुबई उडेको निगमको व्यवस्थापकीय कमजोरी छताछुल्ल

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमान थप गर्न सरकार कम्मर कसेर लागेको छ । तर निगमको व्यवस्थापन पक्ष कति गैरजिम्मेवार छ भन्ने उदाहरण हिजोको एउटा घटनाले देखाएको छ ।

प्रधानमन्त्री यात्रा गर्ने भएपछि ३१ यात्रुलाई काठमाडौंमै छाडेर निर्धारित समयअगावै जहाज दुबई उडाएपछि निगमको व्यवस्थापकीय पक्षको आलोचना थप चुलिएको छ । निगमले सामान्य आचारसंहिता पनि पालना नगरी प्रधानमन्त्री सवार भएकै कारण यात्रु छाडेर उड्दा पनि नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरणसमेत सोध्न सकेको छैन । पर्यटनमन्त्रीसमेत आलटाले जवाफ दिँदै पन्छिन थालेका छन् ।

नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरी बुधबार छताछुल्ल भयो । निगमको आरए २२९ नम्बरको विमानको दुबई जाने समय राति साढे ११ बजे थियो । यात्रुले त्यहीअनुसारको टिकट लिएका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल विश्व जलवायु सम्मेलनमा सहभागी हुन त्यही विमानबाट जाने भएपछि नियमित समयभन्दा दुई घण्टा अघि नै उडान भयो । ३१ जना यात्रु विमानस्थलमै छुटे ।

निगमले भीभीआईपी सवार हुने भएपछि निर्धारित समयभन्दा दुई घण्टा अघि तालिका सारेको हो । तालिका सारेकोबारे यात्रुले जानकारी नै पाउन सकेका थिएनन् । तर निगमले भने फोन र इमेलमार्फत जानकारी दिएको विज्ञप्तिमार्फत दाबी गरेको छ । निगमका अधिकारीहरुसँग पटकपटक प्रतिक्रिया लिन खोज्दा उपलब्ध हुन मानेनन् । यता आफूहरु अलपत्र परेको यात्रु मुना पाण्डे बताउँछिन् ।

निगमले अलपत्र परेका यात्रुलाई चार घण्टासम्म विमानस्थलमै अलपत्र पारेपछि राति साढे १२ बजे मात्र होटेलमा लगेर राखेको थियो । उनीहरुलाई बिहानै उडाउने वाचासमेत कर्मचारीले गरेका थिए । तर दिउँसोसम्म पनि खबर नआएपछि आफूहरुले कहिले होटेल त कहिले निगमको कार्यालय धाएर दिन कटाएको अर्का यात्रु अर्जुन मगरातीको गुनासो छ ।

त्यसो त निगमले अहिले मात्र लापरबाही गरेको होइन । दुई महिनाअघि दुबईबाट नेपाल आउँदा पनि यस्तै दुःख पाएको गुनासो यात्रुको छ ।

विमानले यात्रु छाडेर हिँडेपछि त्यसको जवाफदेहीता विभागीय मन्त्रालयले पनि लिनुपर्ने हो । तर मन्त्री सुदन किराती परराष्ट्र मन्त्रालयको आग्रहमा जहाजको तालिका परिवर्तन गरेको भन्दै जिम्मेवारीबाट पन्छिन्छन् ।

सरकारको पूर्ण स्वामित्वको वायुसेवा निगम निरन्तर घाटामा छ । निगमको ऋण मात्र ४८ अर्बभन्दा बढी भइसकेको छ । भएका विमान राम्रोसाग सञ्चालन गर्न र व्यवस्थापकीय क्षमता सुधार गर्न नसक्ने तर ठूला गफ मात्र छााट्ने नेतृत्वका कारण निगमको विश्वसनीयता झन् कमजोर हुँदै गएको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।