डडेल्धुरा । डडेल्धुरास्थित उग्रतारा भगवतीको मन्दिरमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला लागेको छ । विधिवत पूजाआजासहित सोमबार रातिदेखि सुरु भएको जात्रा मंगलबार पूजाआजा गरेर सम्पन्न भएको छ ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमामा लाग्ने उग्रतारा मेलाका दिन मन्दिरमा पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका-८ को दशरथचन्द राजमार्गछेउमा अवस्थित उग्रतारा मन्दिरमा सोमबार रतेडी र मंगलबार दिउसेडी मेला लागेको हो । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण अर्थात भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान 'देउरो' आएपछि दिउसेडी मेला सुरु हुन्छ । मेलामा हजारौँ दर्शनार्थी पुग्ने गर्दछन् ।
अमगरगढीका मोहनसिंह महरले यहाँ पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वासअनुसार दर्शनार्थीको घुइँचो लाग्ने गरेको जनाए । उनले भने, ‘यहाँ पूजापाठ गर्दा आफ्नो मनले चाहेको पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकाले मेलाको समयमा देश तथा विदेशबाट उग्रतारा माताको दर्शन र मेला भर्न आउने गर्छन् ।’
सतीदेवीले देह त्याग गरेपछि शिवले सतीदेवीको शरीर बोकेर हिँड्दा कार्तिक पूर्णिकाको दिन यो क्षेत्रमा एक अंश खसेको र पछि अमरगढी लटाउली बस्ने साँकी समुदायका स्थानीयले बारी जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यसै दिनदेखि उग्रतारा भगवतीको पूजा गरिँदै आएको किंवदन्ती छ ।
देहीजातका नामले प्रसिद्ध यो मेलामा सुदूरपश्चिमका बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङका साथै छिमेकी भारतबाटसमेत श्रद्धालुहरु उग्रताराको दर्शन गर्न आउँछन् । यसपटक ५० हजार भक्तजनले मन्दिर दर्शन गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।