संकटमा सोनाहको पेसा, भन्छन्- राज्यबाटै हेपियौं

मंसिर ५, २०८० |जे पाण्डे
संकटमा सोनाहको पेसा, भन्छन्- राज्यबाटै हेपियौं

बर्दिया । देशकै सबैभन्दा लामो कर्णाली नदीमा सुन चालेर जीविका चलाउँदै आएका सोनाह जातिको दु:खका कथाव्यथा नदीभन्दा पनि निकै लामा र गहिरा छन् । महँगो सुन चाल्नेहरुको बास छाप्रामा छ ।

गास बास त परकै कुरा सरकारले सूचीकृत नगर्दा जातीय पहिचानसमेत संकटमा छ । बर्दिया, कैलाली र कञ्चनपुरसहित पश्चिम तराईका करिब दुई हजार सोनाह राज्यबाट उपेक्षित भएको र राजनीतिक परिवर्तको महसुससमेत गर्न नपाएको बताउँछन् ।

चरम गरिबीको चपेटमा पर्दै आएको सोनाह जातिकी हीराको पाँच पुस्ता नदीको सुनमा खेलेर बित्यो । तर अहिलेसम्म पानी चुहिने खरको छानो टाल्न सक्ने उनको क्षमता छैन ।

‘सुन चाल्ने काम एकदमै गाह्रो हुन्छ । मान्छेले हेर्दा एकदमै सजिलो देख्छ तर गाह्रो छ,’ राजापुर १, मुर्गहवा बर्दियाकी हीरा सोनाहले भनिन्, ‘बिहानदेखि साँझसम्मै नदीमा काम गर्नुपर्छ । सबै नङ खिइन्छ । हातखुट्टा पाक्छन् ।’

नदीको बालुवा चालेर फेला पर्ने सुनले गुजारा चलाउने यो जाति नदीको जलस्तर घट्दै गएको र नयाँ पुस्तामा रुचि कम भएकाले कसरी जीविका चलाउने भन्ने अर्को चिन्तामा छ ।

सरकारले लोपन्मुख यी गरिब जातिको उत्थान गर्न सकेको छैन । नदी बगरमा घोटिएरै भए पनि सन्जिना सोनाहले ११ कक्षासम्म अध्ययन गरेकी छन् । संस्कृति बनेको पुर्ख्यौली पेसाभन्दा उनको रुचि संगीतमा छ । तर उनी पनि राज्यबाट हेपिएको बताउँछिन् । ‘अहिलेसम्म हाम्रो जाति सबैभन्दा पछाडि परेको छ,’ सन्जिनाले भनिन् ।

बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा करिब दुई हजारको संख्यामा सोनाहा जाति छन् । उनीहरु थारु समुदायजस्तो देखिने भए पनि आफ्नै भाषा, संस्कृति, रहनसहन छ । उनीहरु गाँस-बाससँगै जातीय पहिचानको लडाइँ लड्दै आएका छन् ।

सर्वोच्च अदालतले २०७२ मंसिर १९ गते नै सोनाहा जातिलाई सूचीकृतको परमादेश दिएको थियो । प्रधानमन्त्रीको कार्यालयले पनि सूचीकृत गरी दिन लिखित पत्राचार गरे पनि सूचीकृत नहुँदा राज्यबाट पाउने सुविधाबाट वञ्चित छन् ।

समस्या नै समस्यमा जेलिएका सोनाहको बस्तीका युवाहरु बेरोजगारीले गर्दा घर बस्ती छाडेर कमाइ गर्न बाहिर जाने क्रम बढेको छ ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।