काठमाडौं । काभा मेन्स भलिबल नेसन्स कप खेल्न बंगलादेश जाने नेपाली टोलीको आइतबार बिदाइ गरिएको छ।
पदकको अपेक्षासहित दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान लागेको टोलीलाई भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन्। बिदाइमा भलिबल संघका मूख्य प्रशिक्षक भरत यादवले अहिलेको टिमलाई चुनौती रहेको बताएका छन्।
गण्डकी प्रदेश र विभागका उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टिममा नबोलाइएको तर अनुभव कम भएका र उचाइ मात्रै भएका खेलाडी बोलाएको भन्दै एक महिना अघि समर्थकले संघको आलोचना गरेका थिए। टिमका कप्तान हरीहजुर थापाले केही खेलाडी छुटे पनि अहिलेका खेलाडी निकै ट्यालेन्ट रहेको बताएका छन्।
नेपाली टिमले १८ दिनको अभ्यास गरेको छ। उनले देशभरका सबै खेलाडीलाई सन्तुलित रूपमा छनोट ठरेको बताएका छन्। उनले कम समयमा पनि राम्रो अभ्यास गरेको बताएका छन्। नेपाली टिमले कात्तिक ५ गते तुर्किमेनिस्तान, ६ गते बंगलादेश, ७ गते माल्दिभ्स ९ गते अफगानिस्तान र १० गते श्रीलंकाको सामना गर्नेछ।
राउन्ड रोविन शैलीमा खेलेपछि शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन्। प्रतियोगितामा तुर्किमेनिस्तान र श्रीलंका उपाधिका दावेदार टोलीसमेत हुन्। नेपाली टिममा भने ८ जना नयाा खेलाडी रहेको कारण परिक्षण हुन बाँकी छ। नेपाली टिम सोमबार दिउँसो बंगलादेश प्रस्थान गर्नेछ।