बिहान ९ बजे सिंहदरबार पुगेका जेन-जी घाइतेहरूलाई प्रधानमन्त्री कार्कीले दिइनन् भेट

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
बिहान ९ बजे सिंहदरबार पुगेका जेन-जी घाइतेहरूलाई प्रधानमन्त्री कार्कीले दिइनन् भेट

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की जेन-जी घाइतेसँग भेट गर्नबाट पन्छिनुभएको छ ।

आइतबार पाँच बुँदे माग लिएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका जेन-जी आन्दोलनका क्रममा घाइतेहरूसँग समय व्यस्तता भन्दै प्रधानमन्त्री कार्कीले भेट गर्नबाट टाढिनुभएको हो । 

जेन-जीका घाइतेहरू बिहान ९ बजेदेखि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबारमा पुगेका थिए । तर प्रधानमन्त्र्री कार्की बिहानैदेखि बालुवाटारबाट निस्किनु भएन । प्रधानमन्त्रीले भेट्न नआएपछि जेन-जी घाइतेहरू आक्रोशित भएका छन् । 

उनीहरूले भदौ २३ र २४ को गोली प्रहारको तत्काल न्यायिक कारवाही हुनुपर्ने माग आफूहरूको रहेको बताएका छन् । त्यस्तै उनीहरूले संवैधानिक सुधार र जनमत संग्रह, जेन-जी आन्दोलनको संरक्षण र कानूनी सुरक्षा, भ्रष्टाचारविरूद्ध शुन्य सहनशीलता तथा सम्पत्ति छानबिन, संवैधानिक अंगमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेप रोक लगायतका माग आफूहरू रहेको बताएका छन् । 

साथै उनीहरूले पाँच दिनभित्र आफ्ना माग पूरा हुनुपर्ने अल्टिमेटम दिएका छन् । प्रधानमन्त्री कार्यालयमा जेन-जीका घाइतेहरू थप आक्रोशित भएपछि प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रधानमन्त्रीले आइतबार बालुवाटारबाटै काम गरिरहनुभएको बताउनु भयो । 

प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण भेट गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनु भयो । गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा दर्जन बढी घाइते भएका छन् । उनीहरूमध्ये केहीको उपचार जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.