काठमाडौं । देशको शान्ति सुरक्षाको मूल जिम्मेवारी सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालले जेलबाट भागेका कैदी र प्रहरीका लुटिएका हतियारबारे विवादास्पद अभिव्यक्ति दिनु भएको छ ।
गृह मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री अर्यालले जेन-जी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार र जेलबाट भागेका कैदीबन्दी दुरूपयोग गर्नेछैनौं भनेर राजनीतिक दलहरूले स्वघोषणा गर्नुपर्ने बताउनुभएको हो ।
जेन-जी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई पकाउ नगर्न यसअघि नै परिपत्र गरेर विवादमा आउनुभएका गृहमन्त्रीले शान्ति सुरक्षामा प्रत्यक्ष प्रभाव पर्नेगरी यो अभिव्यक्ति दिनु भएको हो । लुटिएका हतियार कुनै संगठित गिरोहसम्म नपुगेको र निर्वाचनअघिसम्म सरकारले ती हतियार फिर्ता लिइसक्ने गृहमन्त्री अर्यालको दाबी थियो ।
उहाँले लुटिएका हतियार र कैदीबन्दी नियन्त्रणमा लिन विशेष कार्यक्रममा सञ्चालन गर्नेसमेत बताउनुभयो। जेन-जी आन्दोलनका क्रममा जेलबाट भागेकामध्ये हाल ५ हजारभन्दा बढी कैदीबन्दी फर्किएका छैनन् भने प्रहरीबाट ६ सयभन्दा बढी हतियार लुटिएको सरकारी तथ्यांक छ ।
नेपाल प्रहरीले यसअघि नै सातै प्रदेशबाट लुटिएका हतियार र जेलबाट भागेका कैदीबन्दी नियन्त्रणमा लिन विशेष टोली परिचालन गरिसकेको छ । ती हतियारमा एसएलआरदेखि सटगनसम्म छन् । राजनीतिक दलहरूले भयरहित रूपमा निर्वाचन सम्पन्न गर्न शान्ति सुरक्षाको प्रत्याभूति खोजिरहेका बेला गृहमन्त्रीबाटै यस्तो अभिव्यक्ति आएको हो ।
यसैबीच आजै गृहसचिवस्तरीय निर्णयबाट गृह मन्त्रालयले शान्ति सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा सक्रियतापूर्वक भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।