संखुवासभा । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका संखुवासभा खाँदबारी-८ का २७ वर्षीय विवेक भन्ने विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
भदौ २३ र २४ गतेका दिन देशभर चलेको जन-जी आन्दोलनको बेला कारागारबाट विश्वकर्मा फरार भएका थिए। उनी त्यसयता लुकीछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिनुभयाे।
उहाँका अनुसार विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालयबाट करिब डेढ किलोमिटर टाढाबाट पक्राउ गरिएको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। 'फरार अभियुक्तलाई पक्राउ गरी कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ, उहाँले भन्नुभयाे 'कारागार प्रशासनसँग समन्वय गरी उनलाई पुनः नख्खु कारागार पठाइनेछ।'
विश्वकर्मा जबरजस्ती करणीको अभियोगमा अदालतबाट दोषी ठहर भई कैद सजाय काटिरहेका थिए।