नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएको पुष्टि

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएको पुष्टि

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशी हमास समूहको नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ ।

गत अक्टोबर ७ मा इजरायलमाथि भीषण आक्रमण गरेपछि हमास समूहले बन्धक बनाएकामध्ये कञ्चनपुर घर भएका विपिन पनि रहेको इजरायली सुरक्षा फौजले जनाएको हो ।

इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले आईडीएफका प्रवक्तालाई उध्दृत गर्दै हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्ये नेपाली विद्यार्थी विपिन पनि रहेको जनाएको छ ।

साथै नेपाली दूतावासले विपिनको पछिल्लो अवस्थाबारे भने यकिन नभएको उल्लेख गर्दै हालसम्म उनी सम्पर्कविहीन रहेको जनाएको छ । दूतावासले उनको खोजी कार्य जारी रहेकोसमेत जानकारी गराएको छ ।

इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिममा अक्टोबर ७ मा हमास समूहले आक्रमण गरेपछि विपिनलाई बन्धक बनाएर लगेको थियो ।

इजरायली सुरक्षा फौज (आईडीएफ)ले सामाजिक सञ्जाल एक्समार्फत अक्टोबर ७ का दिन बिहान १० : ४२ देखि ११ : ०१ बीचको सीसीटीभी फुटेज भन्दै अल शिफा अस्पतालमा एक घाइतेलाई हमास समूहले लैजाँदै गरेको दृश्य सार्वजनिक गरेको छ । उक्त सीसीटीभी फुटेजमा बन्धक बनाइएका नेपाली नागरिक र थाई नागरिक रहेको आईडीएफले जनाएको छ । जसमा घाइते अवस्थाका एक बन्धकलाई हमास समूहका व्यक्तिहरुले समाएर अस्पताल भित्र लगिएको देखिन्छ भने अर्का एक जना पछिपछि आफैँ हिँड्दै गएका छन् ।

इजरायली सुरक्षा फौजका प्रवक्ता ड्यानियल हगारीले हमास समूहले बन्धक बनाएका सबैलाई सकुशल मुक्त गर्ने प्रयास भइरहेको जनाएका छन् । हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायल सरकारले बताएको छ ।

हमासको आक्रमणबाट करिब १२ सय जनाको मृत्यु भएको इजरायलले जनाएको छ । इजरालयले गरेको कारबाहीमा भने गाजामा १२ हजारभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.