काठमाडौं । उज्यालो पर्व तिहारमा पूजा आराधनादेखि फूल, सप्तरङ्गी टीका, दियो, बिमिरो, भोगटे लगायतका सामग्रीसँगै मिठाइ पसलहरूमा पनि किनमेल गर्नेको भीड बढेको छ । ग्राहक बढेपछि मिठाइ पसलेहरूलाई पनि भ्याइनभ्याई भएको छ ।
तिहारको रमझमसँगै बजारमा अनेकथरी मिठाइको किनमेल बढेको छ । लक्ष्मीपूजा, म्ह: पूजा तथा भाइटिकामा मिठाई आवश्यक मानिने भएकाले काठमाडौं तथा ललितपुरका मिठाई पसलहरूमा पनि ग्राहकको घुइँचो लाग्ने गरेको छ ।
लाखामरी, बर्फी र लालमोहन, रसबरी लगायतका मिठाइको माग धेरै हुने गरेको व्यवसायी बताउँछन् । मौलिक र अखाद्यवस्तु प्रयोग खासै नहुने मिठाईको माग बढेको उनीहरूको भनाइ छ । तिहारमा मिठाई बनाउन र बेच्ने भ्याइन भ्याइ हुने पाटनस्थित मिठाई व्यवसायी राधाकृष्ण राजकर्णिकार बताउँछन् ।
दाजुभाइलाई खुवाउनका लागि दिदीबहिनीले तिहारका परिकारमा रोटीसँगै मिठाइलाई अनिवार्य मान्छन् । सेल, अनरसा, फिनी लगायतका रोटी घरमै बनाइए पनि मिठाइका परिकार पसलबाटै किन्ने चलन बढ्दो छ ।
अरू समयमा भन्दा तिहारमा मिठाईको माग ७० प्रतिशतसम्म बढ्ने गरेको व्यवसायीको भनाइ छ ।
सम्बन्धित समाचार...