१३ तस्बिरमा मनमोहक मुक्तिनाथ क्षेत्र

कार्तिक २६, २०८० |वरुण पनेरू
१३ तस्बिरमा मनमोहक मुक्तिनाथ क्षेत्र

मुस्ताङ । मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध धर्मालम्बीको प्रसिद्ध तीर्थस्थल हो । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा बर्सेनि लाखौं स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् ।

मुक्तिनाथ मन्दिर ३८ सय मिटर उचाइमा हिमालको काखैमा छ । सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै संसारमा पुगेको महसुस हुन्छ ।

नीलगिरि, दामोदर, मुक्तिनाथजस्ता दर्जनौं हिमशृंखलाले घेरिएको मुक्तिनाथ स्कन्द पुराण र अन्य पौराणिक पुराणहरुमा मुक्तिनाथको महिमा पाइन्छ । वि.सं. १८७१ मा निर्माण गरिएको मुक्तिनाथ मन्दिर प्यागोडा शैलीमा छ । मन्दिरभित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति छ । मुक्तिनाथको मूर्तिको दायाँपट्टि उभिएको लक्ष्मीको मूर्ति र बायाँपट्टि उभिएको सरस्वतीको मूर्ति छ भने तामाको छानो भएको यस मन्दिरको पित्तलको गजुरमा सुनको जलप लगाइएको छ ।

मुक्तिनाथको दर्शनका लागि विशेषतः चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी, बडादसैं महत्त्वपूर्ण मानिन्छन् । यसका अलवा मनले चिताएको पुग्ने विश्वासका साथ यहाँ पुग्नेले १०८ धारा र २ वटा कुण्डको पानीमा स्नान गर्ने गर्छन् ।

मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’ मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । गाडीमा पोखरा, बेनी हुँदै मुक्तिनाथसम्म पुग्न सकिन्छ । मुक्तिनाथ मन्दिर चार धाममध्ये एकमा पर्छ । हिन्दु र बौद्ध धर्मको उत्कृष्ट सहिष्णुता भएको मुक्तिनाथ विश्वमै प्रसिद्ध मानिन्छ ।

विश्वकै गहिरो खोँच कालीगण्डकीको किनारै किनार घाँसा, मार्फा कागबेनी हुँदै मुक्तिनाथ पुगिन्छ । यात्राको क्रममा हिमाली दृश्यहरु, सुन्दर गाउँहरु, रुख र घाँस नभएका पहाडहरु देख्दा मनै फुरुंग हुन्छ ।

मुक्तिनाथ जादाँ बाटोमा रुप्से झरना देख्न सकिन्छ । झरना निकै सुन्दर देखिन्छ । रुप्से झरना कालीगण्डकीमा मिसिएको ठाउँ विश्वकै गहिरो खोंचमध्येमा पर्छ ।

हेरौं थप तस्बिर :


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।