चीनबाट आएका राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा लगिँदै

कार्तिक २२, २०८० |ऋषिकान्त पौडेल
चीनबाट आएका राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा लगिँदै

पोखरा । जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएको राहत सामग्री पोखरा हुँदै प्रभावित जिल्लामा लगिने भएको छ ।

आज (बुधबार) बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा विशेष विमानमार्फत ल्याइएका राहत सामग्री उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ राजदूत छेन सोङले हस्तान्तरण गरेका हुन् ।

उक्त सामग्री बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले सहयोगका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको दु:खसुखको अवस्था हित अन्य आर्थिक विकासमा चिनियाँ सहयोगको प्रशंसा गरे ।

राजदूत सोङले पनि पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दु:ख प्रकट गरे । चिनियाँ जनमुक्ति सेनाको दुईवटा जहाजमार्फत आज चार हजार ६ सय ब्लांकेट र ६ सय टेन्ट प्राप्त भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

आज (बुधबार) पोखरा ल्याइएका सामग्री २८ करोड रुपैयाँबराबरको रहेको तर ती सामग्री आवश्यकताअनुसार ट्रकमा राखेर आजै भूकम्प प्रभावित जिल्लामा पठाइने पनि मन्त्रालयले जनाएको छ । चीनबाट आएका उक्त सामग्री अत्यन्त गुणस्तरीय रहेको र भूकम्पबाट क्षति पुगेका सरकारी कार्यालयमा समेत उपयोग गर्न सकिने मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाए ।

राहत सामग्री बुझेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सबै ठाउँबाट प्राप्त राहत सामग्री एकद्वार प्रणालीबाटै वितरण हुने जानकारी दिए । त्यस्तै राहत र उद्धारको काम सकेपछि पुनर्निर्माण र पुन:स्थापनाको कामका लागि सरकार तयारी अवस्थामा रहेको उनको दाबी छ । २०७२ सालमा गएको भूकम्पपछिको अवस्थाबाट पाठ सिक्दै नयाँ ढंगले पुन:स्थापना तथा पुनर्निर्माणको काम सुरु हुने पनि गृहमन्त्री श्रेष्ठले जानकारी दिए ।


Image

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।