घाइतेको बयान : भाग्न पाएनौँ, भाग्यले बाँच्यौँ

कार्तिक १८, २०८० |कमल पन्त|देव राना
घाइतेको बयान : भाग्न पाएनौँ, भाग्यले बाँच्यौँ

सुर्खेत । ‘पहिलोपटक हल्लाएको थाहा भएन । दोस्रोपटक हेर्दाहेर्दै घरको छाना आङ (शरीर) मै झर्‍यो,’ शुक्रबार राति आएको भूकम्पमा परेर घाइते भएका जाजरकोटको भेरी नगरपालिका १, रावत गाउँका शक्तिबहादुर विकले भने, ‘श्रीमतीले बचाउ-बचाउ भन्दै कराइ रहेकी थिइन् । केही उपाए नै भएन ।’

भूकम्पले विस्तरा (ओच्छ्यान) मै झारेका ढुंगा र माटो हटाएर उनी श्रीमती र छोरासँग घरबाहिर निस्किए । उनी बाहिर निस्कँदा गाउँमा मेला लागेजस्तै भिड थियो । ‘सबै जना आ-आफ्नो घरबाट कराइरहनुभएको थियो,’ प्रदेश अस्पताल सुर्खेतमा उपचाररत शक्तिले कान्तिपुर टेलिभिजनसँग भने, ‘हामीलाई दाइ र अन्टीहरुले सहयोग गर्नुभयो, भाग्यले बाँच्न सफल भयौं ।’

भूकम्पबाट आफू जोगिए पनि भाइ (ठूलो ममी) को छोरालाई बचाउन नसकेको उनले बताए । ‘भूकम्पमा परेर बाबु बित्यो, ठूलो ममी घाइते हुनुभएको छ,’ उनले भने, ‘नसोचेकै भयो, ५/६ पटक झट्का आएको भए सबै भाग्थ्यौं होला ।’

भूकम्पमा परेर शक्तिसँग उनका ६ वर्षीय छोरा, श्रीमती र ठूली आमा पनि घाइते छन् । हाल चार जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रदेश अस्पतालका डा. विकास केसीले जनाए ।

भूकम्प जाँदा उनी भर्खर मात्रै सुत्नलाई विस्तारामा पुगेका थिए । ‘बाबु (छोरो) सानो भएका कारण अबेरसम्म बस्नुपर्छ, हामी निदाउने प्रयासमै थियौँ,’ उनले भने ।

यस्तै भेरी नगरपालिका ३ थाप्लेकी १९ वर्षीय चेतना महर आफूले यसरी बाँचौंला भन्ने कल्पना नै गरेकी थिइनन् । राति सुतिरहेकी महरको थाप्लेस्थित घर पूरै भत्किएर भग्नावशेष बनेको छ । आफू, बुबा, आमा, दाइ-भाउजू सँगसँगै पुरिएकी उनी गाउँलेले उद्धार गरिरहेको थाहा नपाएर अब मरिन्छ भनेर बाँच्ने आशा हराइसकेको सुनाइन् ।

पछि सबै गाउँले, छिमेकीहरुले आफूलाई जीवितै उद्धार गर्दा त आफूले पुनर्जन्म पाएकामा निकै खुसीको अनुभूति गरेको जनाइन् । सँगै सुतिरहेका सबै परिवारको जीवितै उद्धार हुन पाउँदा खुसी लागेको चेतनाको भनाइ छ । यसरी आफूले जीवनमा भूकम्पको पहिलो अनुभूति भएको उनले जनाइन् ।

आफू त बाँचे । परिवारका सबैको मृत्यु भएको होला भन्ने सोचेकी चेतनाले सबैलाई सँगै पाउँदा आफूलाई औधी खुसी लागेको प्रतिक्रिया दिइन् ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।

Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement