फ्री वाइफाइ चलाउँदा साइबर सुरक्षाको जोखिम

कार्तिक ८, २०८० |जितेन्द्र झा
फ्री वाइफाइ चलाउँदा साइबर सुरक्षाको जोखिम

काठमाडौं । के तपाईंले सार्वजनिक स्थलमा फ्रि वाइफाइ अर्थात् पैसा नतिरेरै इन्टरनेट चलाउने सुविधा प्रयोग गरिरहनु भएको छ । यदि छ भने सचेत रहनुहोला । यसरी सित्तैमा पाइने वाइफाइ सिग्नलका कारण तपाईंका गोप्य सूचना चुहिन पनि सक्छन् ।

सहरी र व्यापारिक गतिविधि हुने स्थानमा अहिले इन्टरनेट सेवा प्रदायक वा होटल, रेष्टुरेन्ट सञ्चालकले पनि नि:शुल्क वाइफाइको सुविधा दिने गर्छन् । वाइफाइबाट इन्टरनेट चलाउन मिल्ने मोबाइलमा यो सजिलै कनेक्ट हुन्छ । जोसुकैले प्रयोग गर्न पाउँछन् ।

सार्वजनिक वाइफाइ प्रयोग गर्ने अधिकांशलाई यसको सुरक्षा खतराबारे थाहा नै छैन । सार्वजनिक वाइफाइ नेटवर्कमार्फत साइबर अपराधीले सजिलैसँग व्यक्तिका गोपनीय डाटा हात पार्न सक्छन् ।

सार्वजनिक वाइफाइमार्फत कम्प्युटर वा मोबाइलमा भाइरस, अनावश्यक सफ्टवेयरहरु पठाउन सकिन्छ। यसले व्यक्तिगत जानकारी चुहिनेसम्मको जोखिम हुनसक्छ । बैंकिग एप, वालेट र सोसल मिडियाका युजरनेम, पासवर्ड चोरी हुने संभावना हुने साइबर सुरक्षाका जानकारहरुको भनाइ छ ।

त्यसो त इन्टरनेट सेवा प्रदायक कम्पनीको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक स्थलका कम्प्युटर वा सार्वजनिक वाइफाइ प्रयोग गरी अनलाइन बैंकिंग सेवा प्रयोग नगर्न सूचना नै जारी गरेको छ । प्राधिकरणले पाँच वर्ष अघि नै वाईफाई हटस्पट सञ्चालन विनियमावलीसमेत बनाइसकेको छ । तर इन्टरनेट सेवा प्रदायकले दिने पब्लिक वाइफाइ कति सुरक्षित छन् त्यसको प्रभावकारी अनुगमन हुन सकेको छैन ।

मोबाइलमा संवेदनशील डाटा चोरी हुनबाट बचाउन आफूले चाहेको वाइफाइमा मात्र कनेक्ट गर्न र ओपेन वाइफाइको अटो कनेक्ट अफ गर्न साइबर सुरक्षाका जानकारहरुको सुझाव छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पब्लिक वाइफाइका माध्यमबाट सरकारी वेवसाइट र इमेल सञ्चालन नगर्न निर्देशन नै जारी गरेको छ ।

फ्री वाइफाइ दिएर ग्राहक तान्ने होडबाजीका बीच ती नेटवर्क कति सुरक्षित छन् यसबारे न त फ्री वाइफाइ दिनेलाई थाहा छ न त लिनेलाई नै । निशुल्क वाइफाइ भन्ने बित्तिकै कनेक्ट गर्न नहतारिइ बरु शंकास्पद मान्ने चेत विकास गर्न सके मात्र साइबर अपराधीको चंगुलबाट बच्न सकिन्छ । 


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।