माओवादी केन्द्रलाई कुनै हालतमा पनि फुट्न दिन्न : पुष्पकमल दाहाल

श्रावण २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रलाई कुनै हालतमा पनि फुट्न दिन्न : पुष्पकमल दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई कुनै हालतमा पनि फुट्न नदिने बताउनु भएको छ । 

आज माओवादी केन्द्र हुम्लाको कार्यक्रमलाई पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै दाहालले पार्टीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । 

अध्यक्ष दाहालले आफ्नो दलका कार्यकर्ताहरुलाई पार्टी फुट्छ कि भन्ने चिन्ता नलिन आग्रह गर्नुभयो । फुटेर गएका नेताहरु पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘तपाईंहरूलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरु छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो कि ? म के भन्न चाहन्छु भने- पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरु पनि सबै जुट्नेतिर आएका छन् । छिटै तपाईंहरुले समाचार सुन्नुहुनेछ ।’

फुटेका नेताहरु एकजुट गरी पुनः एकपटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको दाहालको भनाइ थियो । माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरुलाई कार्यक्रममार्फत अन्त्य गर्ने दाहालले बताउनु भयो । 

उहाँले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि बताउनु भयो । ‘यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरु जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ,’ उहाँले भन्नुभयो । 

नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताउँदै दाहालले आफूले एक ढंगको विद्रोहको झन्डा उठाइसकेको दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement