सुदूरपश्चिमका रानाथारुले आज तिज मनाउँदै

श्रावण २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमका रानाथारुले आज तिज मनाउँदै

कञ्चनपुर । सुदूरपश्चिमको तराईका आदिवासी/जनजाति रानाथारु समुदायले आज तिज पर्व मनाइरहेका छन् । कञ्चनपुर र कैलालीमा बसोबास गर्दै आएका रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै पानी समेत नपिएर निराहार व्रत बस्ने गर्दछन् ।

तिजको दिन प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने चलन रहेको छ । व्रतालु महिलाहरुले नदी तथा तलाउ किनारमा कुश वा काँसको झुड्की बाँध्दै पूजाआजा गरी पकवान चढाउने गर्दछन् । त्यसलगत्तै नदी तथा तलाउमा झुड्की बगाई आफ्ना दाजुभाइ तथा भतिजाहरू र परिवारको उन्नति, प्रगति र दीर्घायुको कामना गर्ने गर्दछन् ।

रानाथारु समुदायले हरेक वर्ष असार शुक्ल पूर्णिमादेखि गाउँका सबैलाई पायक पर्ने ठाउँमा सावनको डोला अर्थात् पिङ राखेर खेल्ने गर्छन् । रानाथारु समुदायले तिजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् ।

रानाथारु समुदायको तिजका अवसरका आज (बुधबार) कञ्चनपुर र कैलालीका केही स्थानीय तहहरुले स्थानीय बिदा समेत दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement