इजरायलमा रहेका थप १८ नेपालीको उद्धार, भारतको नयाँदिल्ली हुँदै भोलि नेपाल आइपुग्दै

आश्विन ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा रहेका थप १८ नेपालीको उद्धार, भारतको नयाँदिल्ली हुँदै भोलि नेपाल आइपुग्दै

काठमाडौं । सरकारले इजरायलमा रहेका थप १८ नेपालीको उद्धार गरेको छ । गत साता हमासको आक्रमणपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १८ जनालाई सरकारले उद्धार गरेको हो ।

भारतले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकलाई ल्याइदिन लागेको हो । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको तेल अबिबबाट भारतको  उद्धार उडानमार्फत १८ नेपालीको उद्धार गरिएको जानकारी दिए । मन्त्रालयकाअनुसार तेल अबिबबाट बिहान ९ बजे स्पाइस जेटमार्फत भारतीय नागरिकसँगै १८ नेपाली नागरिकको पनि उद्धार गरिएको हो । 

परराष्ट्र मन्त्रालयकाअनुसार उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, लक्ष्मण दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सृता गुरुङ र उर्मिला श्रेष्ठ छन् ।

नयाँदिल्लीस्थित कान्तिपुर सहकर्मी राजेश मिश्रका अनुसार भारतीय उद्धार विमान राति १० बजेर ५२ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । इजरायलबाट आएका १८ जनालाई लिन अधिकारीहरू दूतावास जाने तयारीमा छन् । नेपालीहरुको टोलीलाई भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहितको टोलीले स्वागत गर्नेछ । 

राति नै स्थलमार्गमार्फत् नेपाल पठाउने दूतावासको तयारी छ । उनीहरु भोलि बिहान १० बजे गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुग्ने लक्ष्य छ । सरकारले यसअघि २ सय ५४ नेपालीको उद्धार गरेको थियो । त्यसबेला परराष्ट्रमन्त्री साउद आफैं चार्टर्ड विमान लिएर इजरायल पुगेका थिए ।

करिब पाँच हजार नेपाली केयर गिभर र अध्ययनका लागि इजरायलमा छन् । उनीहरूमध्ये सरकारले देश फर्कन चाहनेबाट आवेदन माग गरेकोमा ५ सय ३ जनाले देश फर्किन चाहेको भन्दै आवेदन दिएका थिए । उनीहरूमध्ये अहिलेसम्म २७३ जनालाई नेपाल फर्काइएको छ । 

आक्रमणमा परेका १० जना नेपाली शव ल्याउने इजराइल सरकारसँग पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा हमासको आक्रमणपछि बेपत्ता नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अज्ञात छ । 

इजरायलस्थित नेपाली दूतावासले त्यहाँका सरकारी संयन्त्रको सहयोगमा विपीनको खोजी जारी राखे पनि पत्ता लाग्न नसकेको जनाएको छ । असोज २० गते हमासले दक्षिणी इजरायलको किबुज अलुमिनमा आक्रमण गर्दा नेपाली विद्यार्थी कञ्चनपुरका विपीन बेपत्ता भएका थिए । 

इजरायलमा हमासको आक्रमणमा मारिएका १० मध्ये ५ नेपालीको शव प्राप्त भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

यसैबीच आज फर्कनेहरुमा ४ जना विद्यार्थी, १३ जना कामदार र १ जना पर्यटक भिसामा आएकाहरु भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार इजरायल-हमास युद्धमा मृत्यु भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी २/३ दिन भित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ । त्यस्तै अन्य शवको पहिचानको काम भइरहेको छ ।

हेर्नुहोस् दूतावासद्वारा जारी विज्ञप्ति ।

सम्बन्धित समाचार...

इजरायलबाट उद्धार गरिएका १८ जना नेपाली दिल्ली विमानस्थलमा अवतरण


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.