होटेलको तेस्रो तलाबाट हामफालेका एक चिनियाँको मृत्यु

आश्विन १९, २०८० |ऋषिकान्त पौडेल
होटेलको तेस्रो तलाबाट हामफालेका एक चिनियाँको मृत्यु

कास्की । पोखराको लेकसाइडस्थित एक होटेलबाट हामफालेका एक चिनियाँको मृत्यु भएको छ । ४१ वर्षीय सन ग्याङ्‌गको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

ग्याङ्गले बिहीबार राति १२:४० मा आफू बसेको होटेलको तेस्रो तलाबाट हाम फालेका थिए । उनलाई लगत्तै उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि प्रतिष्ठानमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेर उनले होटेलको भर्‍याङमा रहेको आल्मुनियमको झ्यालबाट हाम फालेको प्रहरी उपरीक्षक थापाले जनाए ।

साथीहरु तथा प्रेमिकासँग मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि उनले हामफालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक ग्याङ्गसहित अन्य तीन चिनियाँ गत असोज २ गतेदेखि सोही होटेलमा बस्दै आएको प्रहरीको भनाइ छ ।

उनको मृत्युबारे प्रहरीले परिवारलाई जानकारी गराइसकेको छ । उनको शव पोस्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको छ ।


Image

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।