ट्राफिक प्रहरी स्वास्थ्य समस्याको जोखिममा छन् : महानिरीक्षक कुँवर

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
ट्राफिक प्रहरी स्वास्थ्य समस्याको जोखिममा छन् : महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ट्राफिक प्रहरीहरु १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापनमा खटिँदा स्वास्थ्य जोखिम बढेको भन्दै जनस्तरबाटै सहयोगको आवश्यकता रहेको औंल्याएका छन् ।

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह कार्यक्रमलाई आइतबार राजधानीमा सम्बोधन गर्दै कुँवरले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधारण जनता तथा सरोकारवालाहरुको सद्भाव र सहयोग आवश्यक रहेको जनाए ।

महानिरीक्षक कुँवर भन्छन्, ‘१८ सयभन्दा बढी जनशक्ति खटाउँदा पनि दैनिक १२-१४ घण्टा ट्राफिक प्रहरी सडकमा खटिनुपरेको छ । विभिन्न समयमा गरेको अध्ययनले उनीहरुमा स्वास्थ्य समस्याको उच्च जोखिम रहेको देखाएको छ ।’

सडक दुर्घटनाका कारणहरु पहिल्याउनुपर्ने र त्यसका नियन्त्रणका उपायहरुसम्म पुगे क्षति न्यूनीकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ ।

कुँवरले प्रहरीको दुई वर्षीय कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

बढ्दो सहरीकरण, जनघनत्व, पूर्वाधार निर्माणको अभाव, यातायातका साधनको तीव्र वृद्धि नै सडक दुर्घटनाको मुख्य कारण रहेको महानिरीक्षक कुँवरको भनाइ छ ।

आर्थिक वर्ष ०७९/८० मा १८ लाख बढी सवारीसाधन दर्ता भएको त्यसमध्ये १४ लाख सवारीसाधन दैनिक काठमाडौं उपत्यकामा गुड्ने उनको भनाइ छ । काठमाडौं उपत्यकामा १३ सय १३ दरबन्दी रहे पनि १८ सय २२ जना जनशक्ति परिचालन गर्नुपरेको कुँवरको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.