दोलखाबाट थप ४ केजी सुन बरामद

आश्विन १४, २०८० |केदार शिवाकोटी
दोलखाबाट थप ४ केजी सुन बरामद

दोलखा । दोलखा प्रहरीले चिनियाँ नाकाबाट तस्करी गरेर ल्याएका थप चार केजी सुन बरामद गरेको छ ।

बिगु गाउँपालिका १, लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो ४ केजी सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) दीपक खड्काले जानकारी दिए । ‘लामाबगरमा बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा फेला पारेका छौं,’ उनले भने, ‘तर सो सुन तस्करी गरी लुकाउने व्यक्ति पहिचान भएको छ ।’ हाल उनी फरार रहेको खड्काले जनाए ।

योसहित प्रहरीले गएको पाँच दिनमा ११ केजी सुन बरामद गरेको छ । सुन तस्करीमा संलग्न थप दुईजना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिगु गाउँपालिका १, लामाबगरका ३० वर्षीय चसमान तामाङ र सोही गाउँका २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ ।

सुन तस्करीमा संलग्न थप दुईजना पक्राउ

सुन तस्करीमा संलग्न रहेको आरोपमा चसमानलाई लामाबगरबाट आइतबार र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायब उपरीक्षक खड्काले जनाए । चीनबाट अवैध रुपमा ल्याएर लुकाएको सुन प्रहरीले दोलखाको बिगु गाउँपालिका ३, जामुनेबाट बुधबार ४ केजी र शुक्रबार ३ केजी बरामद गरेको थियो । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म तस्करले ल्याएको ११ केजी सुन पक्राउ गरेको छ । फलाकबाट चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतको भनाइ छ । फरार रहेकाहरुसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।

यो पनि...

दोलखामा चार किलो सुनसहित ३ जना पक्राउ

दोलखाबाट फेरि ३ किलो सुन बरामद

४ केजी सुनसहित पक्राउ परेका ३ जनालाई अदालतबाट म्याद थप


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।